शुक्रबार, १६ चैत्र २०८० ०४:०५

भारतमा अत्रपत्र परेका ४ बालबालिकाहरुलाई उद्धार गरी अभिभावकको जिम्मा

आईतवार, १० श्रावण २०७८ १४:२६

साउन १० | प्रवासी नेपाली मित्र मंच भारत र मानव कल्याण मित्र मंच नेपालले भारतमा अत्रपत्र परेका चार जना बालबालिकाहरुलाई उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ । आइतबार प्रवासी नेपाली मित्र मंच र मानव कल्याण मित्र मंच नेपालले भारतमा अत्रपत्र परेका चार जना बालबालिकाहरुलाई रुपन्देही जिल्ला प्रशासन कार्यालयका प्रमुख आस्मान तामाङ्गको रोहवरमा वडाध्यक्ष र परिवारलाई जिम्मा लगाएको हो । बैतडीका १५ वर्षीय प्रकाश सिंह महरा, बाँके कोहलपुरका ९ वर्षीय रोशन बादी, ७ वर्षीय बिशाल बादी र ५ वर्षीय पुजा बादी घरबाट भागेर भारत पुगेका थिए । प्रकाश पैदल नै भारत पुगेका थिए भने कोहलपुरका ३ जना बालबालिका ट्रकको सहायतामा भारत पुगेका थिए । ६ महिना अघि कोहलपुर नाकाबाट भारत घुम्न र कमाउन जाने भनि हिँडेका चारै जना बालबालिकालाई भारतको बरेलीबाट उद्वार गरिएको हो । उनीहरुलाई नेपाली राजदूतावास दिल्लीबाट अनुमति पत्र प्राप्त गरी उत्तर प्रदेशको बरेली न्यायपीठ बाल कल्याण समितिको आदेशबाट आर्य समाज अनाथलायको संरक्षणमा राखिएको र सोही स्थानबाट उनीहरु चारै जनालाई नेपाल ल्याईएको प्रवासी मित्र मञ्चका महासचिव रघुनाथ पाण्डेले बताउनुभयो । अलपत्र परेका ती बालबालिकाहरुलाई प्रवासी नेपाली मित्र मंच भारतका महासचिव रघुनाथ पाण्डे,महिला विभागकी अध्यक्ष अनिता क्षेत्री,महासचिव गीता खनाल र मानव कल्याण मंच नेपालका अध्यक्ष दुर्गा प्रसाद अर्यालको सहयोगमा उद्धार गरिएको हो ।