सहकारी खबर
संचय सहकारीको १७औँ साधारण सभा सम्पन्न, प्रेमबहादुर रोकाहा अध्यक्षमा निर्विरोध
रुपन्देही ।
सियारी गाउँपालिका–५, बनघुसरीस्थित संचय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ साधारण सभा तथा पाँचौँ निर्वाचन भव्य रूपमा सम्पन्न भएको छ। असोज १८ गते सम्पन्न साधारण सभाले संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, आगामी कार्यदिशा तथा विभिन्न नीतिगत विषयमा छलफल गर्दै महत्वपूर्ण निर्णयहरू सर्वसम्मत रूपमा पारित गरेको छ।
संस्थाका अध्यक्ष यामबहादुर रोकाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य तिला कुमारी पराजुलीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा उपाध्यक्ष भागिरथ पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको उद्घाटन संस्थाका संस्थापक अध्यक्ष नरेश प्रसाद थान्जुले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। उद्घाटन समारोहमा संस्थाका पदाधिकारी, शेयर सदस्य, सल्लाहकार, स्थानीय जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
वार्षिक प्रतिवेदन प्रस्तुत साधारण सभामा संस्थाका अध्यक्ष यामबहादुर रोकाहा, सचिव बसन्तराज भट्टराई, कोषाध्यक्ष पार्वती बुढाथोकी तथा लेखा संयोजक कमलप्रसाद पौड्यालले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको वर्तमान अवस्था, आर्थिक गतिविधि, सदस्य सेवा, संस्थागत प्रगति तथा आगामी योजनाका विषयमा जानकारी गराइएको थियो। साधारण सभाले आर्थिक वर्ष २०८२/०८३ को सम्पन्न लेखापरीक्षण प्रतिवेदन, विभिन्न १५ वटा कार्यविधि तथा विनियम पुनर्लेखन लगायतका विषयहरू सर्वसम्मत रूपमा अनुमोदन तथा पारित गरेको छ।
१३ जना ज्येष्ठ शेयर सदस्य सम्मानित
संस्थाले आफ्नो यात्रामा महत्वपूर्ण योगदान पुर्याएका १३ जना ज्येष्ठ शेयर सदस्यहरूलाई सम्मान गरेको छ। ज्येष्ठ सदस्यहरूको योगदान, संस्थाप्रतिको निरन्तर विश्वास र सहकार्यको कदर गर्दै सम्मान गरिएको हो। सहकारीको विकास र संस्थागत यात्रामा लामो समयदेखि जोडिएका ज्येष्ठ सदस्यहरूको सम्मानले नयाँ पुस्ताका शेयर सदस्यहरूलाई समेत संस्थाप्रति थप जिम्मेवार र सकारात्मक बन्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।
शेयर सदस्यबाट सुझाव तथा जिज्ञासा
कार्यक्रममा शेयर सदस्य प्रेमकुमार पोख्रेलले संस्थाको सेवा, गतिविधि तथा आगामी कार्यदिशाका विषयमा विभिन्न सुझाव, सल्लाह तथा जिज्ञासा राख्नुभएको थियो। उहाँले उठाउनुभएका विषयमा संस्थाका सल्लाहकार प्रेमबहादुर रोकाहाले आवश्यक सम्बोधन गर्दै संस्थाको वर्तमान अवस्था र आगामी योजनाबारे आफ्ना धारणा राख्नुभएको थियो। त्यसैगरी संस्थाका शेयर सदस्य तथा सियारी गाउँपालिका–५ का वडाध्यक्ष धनपति खरेलले शुभकामना मन्तव्य व्यक्त गर्दै सहकारी संस्थाले स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासमा पुर्याउन सक्ने भूमिकामाथि प्रकाश पार्नुभएको थियो। उहाँले सहकारीको संस्थागत विकाससँगै शेयर सदस्यको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो।
प्रेमबहादुर रोकाहाको नेतृत्वमा नयाँ समिति निर्विरोध
१७औँ साधारण सभाको अर्को महत्वपूर्ण पक्षका रूपमा संस्थाको पाँचौँ निर्वाचनबाट नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित भएको छ।
निर्वाचन संयोजक मीनप्रसाद भट्टराई तथा सदस्यहरू नरेश प्रसाद थान्जु र थमनबहादुर पौडेल सम्मिलित निर्वाचन टोलीको सहजीकरणमा निर्वाचन प्रक्रिया सम्पन्न भएको थियो। निर्वाचनबाट प्रेमबहादुर रोकाहाको नेतृत्वमा नयाँ सञ्चालक समिति निर्विरोध चयन भएको हो।
निर्विरोध निर्वाचित सञ्चालक समिति
१. अध्यक्ष — प्रेमबहादुर रोकाहा
२. उपाध्यक्ष — बसन्तराज भट्टराई
३. सचिव — लक्ष्मण पराजुली
४. कोषाध्यक्ष — भगवता कंडेल भुसाल
५. सदस्य — लेखनाथ भुसाल
६. सदस्य — तिला कुमारी पराजुली
७. सदस्य — ज्ञानबहादुर थापा क्षेत्री
८. सदस्य — प्रकाश पोख्रेल
लेखा समिति
१. लेखा संयोजक — गोपालप्रसाद पोख्रेल
२. सदस्य — विष्णु तिवारी
३. सदस्य — मतिसरा खरेल
सहकारीको नयाँ नेतृत्वसँगै नयाँ अपेक्षा
नयाँ सञ्चालक समिति निर्विरोध चयन भएसँगै संस्थाले आगामी दिनमा अझ प्रभावकारी, पारदर्शी र सदस्यकेन्द्रित सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ। सहकारीमा सदस्यहरूको विश्वास कायम राख्दै बचत परिचालन, ऋण लगानी, वित्तीय अनुशासन, संस्थागत सुशासन तथा सदस्य हितका कार्यक्रमलाई थप प्रभावकारी बनाउने चुनौती नयाँ नेतृत्वसामु रहेको छ।





