रुपन्देही, मंसिर १२।
रुपन्देहीको शुद्धोदन गाउँपालिका–५, मानपकडीस्थित पौराणिक दरबहवा मेला महोत्सवमा आज शनिबार चर्चित गायक तथा कलाकार दुर्गेश थापाको विशेष सांगीतिक प्रस्तुति रहने भएको छ।
डि स्टार ब्वाइज क्लबको आयोजनामा सञ्चालन भइरहेको मेला महोत्सवमा दर्शक तथा संगीतप्रेमीलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले लोकप्रिय कलाकार थापालाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ।
आज साँझ ६ बजेपछि सुरु हुने सांगीतिक कार्यक्रममा गायक दुर्गेश थापाले आफ्ना चर्चित गीत तथा सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्ने कार्यक्रम रहेको छ।
पछिल्लो समय नेपाली लोक तथा आधुनिक सांगीतिक क्षेत्रमा लोकप्रियता कमाएका थापाको प्रस्तुतिले मेला महोत्सवको रौनक थप बढाउने अपेक्षा गरिएको छ। उनको प्रस्तुति हेर्न रुपन्देहीसहित आसपासका जिल्लाबाट समेत दर्शक आउने आयोजकको विश्वास छ।
डि स्टार ब्वाइज क्लबका संयोजक दीपक मगरले सांगीतिक मनोरञ्जनसँगै स्थानीय कला, संस्कृति र पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताउनुभयो। उहाँले आज साँझ ६ बजेपछि हुने कार्यक्रममा उपस्थित भई मनोरञ्जन लिन सम्पूर्ण दर्शक तथा संगीतप्रेमीलाई आग्रह गर्नुभएको छ।
पौराणिक दरबहवा मेला महोत्सवले स्थानीय क्षेत्रको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानलाई उजागर गर्नुका साथै मनोरञ्जन र स्थानीय गतिविधिलाई समेत प्रोत्साहन गर्दै आएको छ।

