सहकारी खबर
समीप सहकारीको १४ औं साधारण सभा तथा ५ औं निर्वाचन सम्पन्न
रुपन्देही , कार्तिक १४
रुपन्देहीको सियारी गाउँपालिका -७ स्थित श्री समीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा तथा ५ औं निर्वाचन कार्यक्रम शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सूर्यनारायण यादवको अध्यक्षता र संस्थापक अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियोे ।कार्यक्रममा उपाध्यक्ष कमल प्रसाद थारुले स्वागत मन्तव्य र कार्यक्रमको संचालन सञ्चालक समिति सदस्य सुदर्शन पौडेलले गरेका थिए ।

कार्यक्रममा अध्यक्ष यादवले वार्षिक प्रतिवेदन तथा आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष प्रतिमा नेपालले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक प्रकाश रेग्मीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।त्यसै अवसरमा संस्थाका सल्लाहकार ध्रुव नेपाल र वडा नम्बर ६ का वडा अध्यक्ष शेरबहादुर गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष माधब नेपालले राज्यले लागू गरेका अप्ठ्यारा नीतिका कारण सहकारी सञ्चालनमा चुनौती थपिएको बताउँदै सहकारीलाई सफल बनाउन नयाँ योजना सहित अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
साधारण सभाकै अवसरमा उत्कृष्ट बाल बचतकर्ता, ८० वर्ष नाघेका जेष्ठ शेयर सदस्य, उत्कृष्ट कारोबार गर्ने सदस्य र कर्मचारीतर्फ विनोद कुमार बनियालाई सम्मान गरिएको थियो। संस्थाका अनुसार हाल संस्थामा कुल १ हजार ३०९ जना शेयर सदस्य आबद्ध छन् जसमा ७१२ जना महिला र ५९७ जना पुरुष छन्।
शनिबार सम्पन्न सहकारीको १४ औं वार्षिक साधारण सभा तथा ५ औ निर्वाचनबाट सर्वसम्मत रुपमा नरेश्वर गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको छ। जसको उपाध्यक्षमा प्रतिमा नेपाल, सचिवमा संजय कुमार गुप्ता (भुज), कोषाध्यक्षमा बृजेश कुमार बनिया रहेका छन् भने सदस्यहरुमा एकदेव सापकोटा, विमला नेपाल, जीवन शर्मा, टिका कार्की र सविता खड्का चयन भएका छन। त्यस्तै लेखा समितिको संयोजकमा थानेश्वर भुर्तेल र सदस्यहरुमा प्रेमनारायण यादव र विष्णुमाया गुरुङ चयन भएका छन् ।
निर्वाचन मण्डलको उपसमिति संयोजकमा बिष्णु भट्टराई रहेका थिए भने सदस्यहरुमा हेमन्त चौधरी र हरिद्वार गुप्ता रहेका थिए ।






