सहकारी खबर
दुवै मिर्गौला फेल भएका हरि बनियाको उपचारका लागि उत्तम महिला कृषि सहकारीद्वारा आर्थिक सहयोग
रुपन्देही ।
रुपन्देहीको सियारी गाउँपालिका–७, अमवास्थित उत्तम महिला कृषि सहकारी संस्था लिमिटेडले दुवै मिर्गौला फेल भएका स्थानीय बासिन्दा हरि बनियाको उपचारका लागि नगद रु. ७ हजार १५५ आर्थिक सहयोग गरेको छ।
सहकारी संस्थाले मानवीय सेवाभाव र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै जीवनमरणको दोसाँधमा रहेका बनियाको उपचारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको हो।
सहकारी संस्थाकी अध्यक्ष सुदिक्षा खरेलले यस्तो कठिन परिस्थितिमा पीडितलाई सहयोग गर्नु सबैको मानवीय दायित्व भएको बताउँदै सहयोगी मन भएका सम्पूर्ण व्यक्तिहरूलाई आर्थिक सहयोगका लागि अघि बढ्न आग्रह गर्नुभयो।
सियारी गाउँपालिका–७, अमवाका निवासी हरि बनियाका दुवै मिर्गौलाले काम गर्न छाडेपछि उहाँको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। चिकित्सकको सल्लाहअनुसार उहाँको जीवनरक्षाका लागि तत्काल मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएकाले ठूलो रकम आवश्यक परेको छ।
आर्थिक अभावका कारण उपचारमा कठिनाइ भइरहेको अवस्थामा बनियाको जीवनरक्षाका लागि परिवारले सहयोगी मनहरूलाई आर्थिक सहयोग गरिदिन हार्दिक अपिल गरेको छ।
यस कठिन घडीमा सानो सहयोगले पनि बिरामीको उपचारमा ठूलो योगदान पुर्याउन सक्ने भएकाले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली, सामाजिक संघसंस्था, व्यवसायी, समाजसेवी तथा सहयोगी मनहरूलाई सक्दो आर्थिक सहयोग गरिदिन अनुरोध गरिएको छ।
मानवीयता नै सबैभन्दा ठूलो धर्म हो। हरि बनियाको जीवनरक्षाका लागि तपाईंको सानो सहयोग पनि अमूल्य बन्न सक्छ। आउनुहोस्, सबै मिलेर उहाँको उपचारमा सहयोग गरौँ।
सहयोग गर्नका लागि
ज्योति विकास बैंक खाता नं 06501200253939000001
सम्पर्क नं: 9827466080






