एमालेको बिधान महाधिवेशन शुक्रबारदेखि ललितपुरमा सुरु

असोज–१५, हेल्लो नेपाल ।
नेकपा एमालेको बिधान महाधिवेशन शुक्रबारदेखि ललितपुरमा सुरु भएको छ । शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो पार्टीविरुद्ध घेराबन्दी र आक्रमणको नयाँ शृंखला शुरू भएको बताउनुभयो । दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालई परास्त गर्दै समाज निर्माण गर्ने जिम्मा आएको उहाले बताउनुभयो । केही नेता संगठनात्मक अराजकता र फूटलाई प्रश्रय दिँदै पार्टीबाट बाहिरिए पनि एमाले नेकपाकै निरन्तरता भएको ओलीले बताउनुभयो ।
उहाले २०७५ जेष्ठ ३ गते भएको माओवादी र एमालेबीचको एकता पनि ऐतिहासिक भएको जिकिर गर्नुभयो । सीमित व्यक्तिका स्वार्थका कारण र सर्वोच्चको एउटा आदेशका एकता निष्कर्षमा पुग्न नसकेको उहाले बताउनुभयो । उहाले एमाले नेकपाको निरन्तरता सहितको सकारात्मक विरासत बोकेको पार्टी भएको तर्क गर्नुभयो । उहाँले कम्युनिष्ट पार्टीले विभिन्न वर्ग या समुदायका आन्दोलन सञ्चालनका लागि जनसङ्गठन निर्माण गर्न सक्ने बताउँदै विभिन्न शक्तिसँग वर्गीय र राजनीतिक मोर्चा निर्माण गर्ने विचार व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले पार्टी विभाजन गर्ने माधव नेपालको योजनामा साथ नदिएर पार्टी एकताको पक्षमा उभिएको भन्दै उपाध्यक्ष भीम रावलसहितका नेताहरूले स्वागतयोग्य काम गरेको बताउनुभयो । उहाँले नेकपा एमालेलाई विभाजन गराउन र माधव नेपालहरूलाई वैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखको भूमिका समेत सहयोगी भएको टिप्पणी गर्नुभयो ।
ओलीको राजनीतिक प्रतिवेदनमा वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थिति, एमाले नेतृत्वको सरकारका उपलब्धि, संविधानको कार्यान्वयन, पूर्वाधार विकास, स्वास्थ्य सेवाको विस्तार, नयाँ सत्ता गठबन्धन गठन हुनु पछाडिका कारण, अबको बाटो, समाजवादको कार्यसूचीलगायत विषय समेटिएका छन् । तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरबाट करिब ६ हजार भन्दा बढि प्रतिनिधि सहभागी छन् ।
महाधिवेशनले राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव माथि छलफल गरि आवश्यक निर्णय सहित पारित गर्ने एमालेले जनाएको छ ।