एमाले नाराबाजीबीच प्रतिनिधि सभा बैठकमा अघि बढे बजेटका पूरक विधेयक

असोज १४, हेल्लो नेपाल ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिहीबार पनि प्रतिनिधिसभा बैठकमा नारावाजीसहित बिरोध जनाएका छन् ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बिहीबार बैठक सुरुहुने बितिकै एमालेका सांसदहरुले उठेर बिरोध गर्दै रोष्टम घेराउ गर्न पुगेका थिए ।
सो क्रममा उनीहरुले एमालेले कारवाही गरेका सांसदहरुलाई सदनमा प्रवेश गराएको भन्दै नारावाजी गरेका थिए । बिरोधपछि सभामुख अग्नि सापकोटाले सहज रुपमा सभा सञ्चालन गर्नका लागि सहयोग गर्न अनुरोध गर्नुभएको थियो । उहाले अदालतमा विचाराधीन विषयमा संसदमा छलफल नहुने भन्दै ध्यानाकर्षण गराउनुभएको थियो ।
एमालेका सांसदहरुको बिरोधकाबीच सभामुख सापकोटाले राष्ट्रपति कार्यालयबाट अध्यादेश खारेज तथा बिधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो ।
त्यस्तै बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले महालेखा परीक्षकको ५८ औं बार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठकमा असोज १९ गते मंगलबार बोलाइएको छ । माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिस सभामुखले कार्यान्वयन नगरेको भन्दै एमालेले निरन्तर रुपमा प्रतिनिधिसभा बैठकमा बिरोध गरिरहेको छ ।