ऐतिहासिक कात्तिक नाच सुरु
काठमाडौं । ललितपुरको ऐतिहासिक कात्तिक नाच शनिबार रातीबाट सुरु भएको छ । ३ सय ८१ वर्षदेखि निरन्तर रुपमा सञ्चालन भइरहेको ऐतिहासिक कात्तिक नाच यसवर्ष १० दिनसम्म चल्नेछ ।
सो क्रममा झन्डै एक दर्जन नाच प्रदर्शन गरिन्छ । नाचको पहिलो दिन पाटन डबलीमा बाथःप्याखँअन्तर्गतको माकः सीमियेगु नाटक प्रदर्शन गरिएको छ । १३ जना कलाकारले प्रस्तुत गरेको उक्त नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गर्नुभएको हो । नाचमा दैत्य जगाउने परम्परा छ ।
यस नाचमा राजोपाध्याय, श्रेष्ठ, प्रधान, अमात्य, जोशी, मल्ललगायत नेवार समुदाय भित्रको विभिन्न जातको प्रतिनिधित्व हुने गरेको कात्तिक नाच संरक्षण समितिले जनाएको छ ।