शुक्रबार, २८ चैत्र २०८१ २१:४०

कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित

बिहीबार, २५ फाल्गुन २०७९ १३:५४

फागुन–२५,हेल्लो नेपाल ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । मुलुकको तेस्रो राष्ट्रपतिका लागि बिहीबार भएको मतदानमा उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी निर्वाचित हुनुभएको हो ।

मतदानमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो ।

निर्वाचनमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । पूर्व सभामुख समेत रहनुभएका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुनुहुन्थ्यो भने अर्का पूर्व सभामुख नेम्वाङलाई एमालेको मात्र साथ थियो ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।