चुनावलाई सहयोग पुग्ने गरी कलम चलाउन पत्रकारलाई आग्रह -देउवा
साउन–६,हेल्लो नेपाल ।
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र र संघीयतालाई बलियो बनाउन पत्रकारिता क्षेत्रलाई निष्पक्ष बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशमा भएका ठूला ठूला परिवर्तनमा प्रेसले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै लोकतन्त्र र संघीयतालाई बलियो र दिगो बनाउन पत्रकारिता क्षेत्रलाई स्वतन्त्र र निपष्क्ष बनाउनु पर्ने बताउनुभएको हो ।
प्रधानमन्त्री देउवाले सरकार छिट्टै प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने तयारीमा लागेको बताउदै चुनाव स्वच्छ, मर्यादित र भय रहित वातावरणमा सम्पन्न गर्नका लागि सहयोग पुग्ने गरी कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो ।
उहाँले कोरोनाको समयमा सञ्चार क्षेत्रले निभाएको भूमिकाको प्रशंसा गर्दै पत्रकारिता क्षेत्र थप जिम्मेवार र उत्तरदायी रहन आवश्यक रहेको औल्याउनुभयो ।
हेटौंडामा शुक्रवारदेखी सुरु भएको नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनमा देशभरबाट १ हजार ६४० प्रतिनिधि सहभागी छन् । शनिवार सम्पन्न हुने युनियनको नेतृत्वका लागि संस्थापन पक्षबाट अनिता विन्दु र संस्थापन इतर पक्षबाट शिव लम्सालका प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।