बिहीबार, ४ बैशाख २०८२ १०:५५

जिल्ला प्रशासन कार्यालय रुपन्देहीको बार्षिक प्रगति विवरण सार्वजनिक

मंगलवार, २ श्रावण २०८० १३:०७

बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले  आर्थिक वर्ष २०७९/०८० मा सार्वजनिक सेवा प्रवाहको सन्दर्भमा भएका मुख्य प्रगति विवरण तथा सेवालाई थप प्रभावकारी, नतिजा मूलक र जनमुखी बनाउन गरेका कार्यहरुको जानकारी गराएको छ ।

गत आर्थिक वर्ष २०७९/०८० मा कार्यालयवाट बंशजको आधारमा १२ हजार १ सय ९, बैवाहिक अंगिकृत १ हजार २२, अंगिकृत नागरिकका सन्तानहरुलाई अंगिकृत नागरिकता प्रमाण पत्र ९, जन्मका आधारमा नागरिकता लिएका बाबुआमाका सन्तानलाई बंशजको नागरिकता प्रमाणपत्र १ हजार ९ सय ९२ गरी कुल १५ हजार ५२ वटा नयाँ नागरिकता र १० हजार २ सय ४५ वटा प्रतिलिपि नागरिकता वितरण गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । ५० हजार ५ सय ६३ ई-पासपोर्ट, २१ द्रुत सिफारिस गरिएको र २८ हजार ४ सय ५७ राहदानी वितरण गरिएको र  कार्यालयमा गत वर्ष जम्मा २ सय १ मुद्धा दर्ता भएकोमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका ७५ वटा समेत गरी कुल जम्मा २ सय ७६ मुद्ध मध्ये २ सय २८ मुद्धा (८२.६०) प्रतिशत फ¥यौंट भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

उनले सीमावर्ती भारतीय बजारवाट व्यक्तिगत रुपमा सामान खरिद गरी ल्याउँदा रु.१०० भन्दा बढी मूल्यको सामग्रीलाई कानून बमोजिम अनिवार्य रुपमा भन्सार तिर्नुपर्ने व्यवस्थालाई कडाईका रुपमा लागू गरिएको बताए । जसका कारण चोरी निकासी  नियन्त्रण हुनुका साथै आन्तरिक बजारमा ब्यापार, कारोवार बृद्धि भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । 

यसै गरी विभिन्न विषयमा जम्मा १ सय २७ ठाडो उजुरी-निवेदन दर्ता हुन आएकोमा १ सय २७ अर्थात् शतप्रतिशत नै फ¥यौट भएको, सवारी ज्यान मुद्धा अन्तर्गत १ सय १३ जनालाई काजक्रिया खर्च स्वरुप क्षतिपूर्ति उपलव्ध गराईएको, अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धि ५ सय ३६ वटा निवेदन परेकोमा हाल सम्म १ सय ९७ वटा निवेदन उपर छलफल भएको र ९९ वटा निवेदनमा आपसी छलफलद्धारा सहमति कायम गराईएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तयार पारेको तथ्याङ्कले देखाएको छ ।

विपद्का घटनावाट ३ जनाको मृत्यु भएको र ३ सय ४७ जना विपद् प्रभावित रहेको, विपद् पिडितहरुलाई आर्थिक सहायता स्वरुप ३ लाख ७५ हजार उपलव्ध गराईएको, गत वर्ष सो कार्यालयवाट ५ सय ४६ जना नावालक परिचयपत्र, २ हजार ७ सय ३५ मधेशी दलित प्रमाणित, १ हजार ८ सय ४६ वटा व्यक्ति प्रमाणित पेन्सन सिफारिस, २ वटा पत्रपत्रिका दर्ता, १ सय ४९ वटा हातहतियार ईजाजत नविकरण र एउटा हातहतियार नामसारी भएको उल्लेख छ ।

गत वर्षमा कार्यालयमा कार्यालय प्रमुखको वैठक १२, जिल्ला सुरक्षा समितिको वैठक ५२, प्रदेश स्तरीय सुरक्षा गोष्ठी २, भारतिय समकक्षीहरु सँगको वैठक २, अन्तर जिल्ला समन्वय वैठक २, विपद् व्यवस्थापन सम्बन्धि वैठक ९ र अन्य वैठकगरी ४० पटक बैठक बसेको जनाईएको छ । गत आर्थिक वर्षमा यस कार्यालयवाट १ सय ४ वटा नयाँ संस्था दर्ता भएको, ७ सय ८१ वटा संस्थाको नविकरण गरिएको, राष्ट्रिय परिचयपत्र २३ हजार ९ सय ९ जनाको विवरण दर्ता गरिएको, बजार अनुगमन अन्तर्गत २८ पटकमा १ सय ८१ वटा पसल व्यवसाय अनुगमन गरिएको र जरिवाना वापत ४ लाख ७३ हजार ४ सय ५० रुपैयाँ राजस्व संकलन भएको र ९६ हजार १ सय ५० रुपैयाँ बरावरको सामान जफत गरी नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै गत आव मा चालु तर्फ ३ करोड ३८ लाख ३४ हजार ७ सय २६ रुपैयाँ अर्थात् (९७.६०) प्रतिशत खर्च भएको र पुँजिगत तर्फ ७४ लाख ४४ हजार ६ सय ८२ रुपैयाँ (९८.२८) प्रतिशत खर्च भएको वित्तिय प्रगति विवरणले देखाएको छ । कार्यालयले संस्था दर्ता नविकरण बाट १२ लाख ८६ हजार ६ सय, हातहतियार,पत्रपत्रिका,छापाखानाबाट १५ लाख २ हजार १ सय ७५, राहदानीबाट १ करोड ८२ लाख ९५ हजार ९ सय ११, न्यायिक दण्ड जरिवानाबाट १५ हजार ४ सय, र अन्य राजस्वबाट १ करोड २५ लाख १० हजार ८ सय ९२ रुपैयाँ ६२ पैसा गरी कूल १९ करोड ८४ लाख १७ हजार ८ सय ७८ रुपैयाँ ६२ पैसा राजस्व संकलन भएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी रामचन्द्र अर्यालले बताए ।