शनिबार, ६ बैशाख २०८२ ०६:५८

देवदहमा शहिद दुर्गा तिवारीको पाँचौ स्मृति सभा सम्पन्न

आईतवार, ४ पुष २०७८ १४:१३

पौष ४, हेल्लो नेपाल ।
पार्टी र जनताको काम गर्दै -गर्दा शहादात प्राप्त गर्नु भएका सहिदहरुको योगदान सदैव स्मरणमा रहने नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले बताउनु भएको छ ।

रुपन्देहीको देवदहमा आयोजित शहिद दुर्गा तिवारीको पाचौं स्मृति सभालाई सम्बोधन गर्दै विश्वकर्माले जनताको मनमा बस्न सफल एक कुशल राजनीति कर्मिको बलिदानीपुर्ण योगदान सवैका लागि स्मरणीय रहने बताउनु भएको हो ।

पार्टी लुम्बिनी प्रदेशका ईन्चार्ज समेत रहनु भएका विश्वकर्माले जनताको दुखसुखमा, युवाहरुको उद्धमशिलतामा, असमानता , अभाव र गरीवीमा सवैको सारथिको रुपमा रहनु भएका स्व. तिवारीले बोकेको विचारलाई सवैले आत्मसात गरि अघि बढनु पर्नेमा जोड दिनु भयो ।

आजको सन्दर्भमा स्व. तिवारीले देखाएको बाटोमा सवै जना हिडन सकिएमा न्याय, समानता र जनताको पक्षमा  योगदान पुग्ने बताउदै विश्वकर्माले स्व. तिवारी परिवारको मात्रै नभएर राष्ट्रकै सपूत भएको औंल्याउनु भएको थियो ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका पोलिटव्युरो सदस्य दधिराम न्यौपानेले शहिदहरुको सपनालाई पूरा गर्न पार्टीका कार्यकर्ताहरु लाग्नु पर्ने बताउनु भयो । पार्टीका लुम्बिनी प्रदेश ईन्चार्ज समेत रहनु भएका न्यौपानेले जनताको भावना र चाहाना अनुरुप एमाले अघि बढने बताउदै शहिदको सपनालाई खेर जान नदिन आफुहरु प्रतिवद्ध रहेकोमा जोड दिनु भएको थियो ।

त्यसै गरि अर्का वक्ता पार्टीका केन्द्रीय अनुशासन आयोगका सदस्य डा. कृष्ण न्यौपानेले देवदहको विकासमा अविचलित रुपमा लाग्दै गर्दा ज्यान गुमाउनु भएका योद्धा स्व. तिवारीको योगदानले समाज रुपान्तरणमा महत्त्वपूर्ण भुमिका खेलेको बताउनु भएको थियो ।

पार्टीका नगर कमिटी अध्यक्ष टिकाराम चापागाईंको अध्यक्षता, सचिव विष्णु अर्यालको संचालन र उपाध्यक्ष हिरा थापाको स्वागतमा भएको कार्यक्रममा पार्टीका क्षेत्रीय संयोजक यज्ञ गैरे, शहिद  दुर्गा तिवारीका दाजु चक्रपाणी तिवारी लगायतले बोल्नु भएको थियो ।