शनिबार, ६ बैशाख २०८२ १०:४६

देवदह नगरपालिकाको वडा नम्बर ९ घोडाहामा पुष ३० गते देखि माघ ७ गते सम्म महायज्ञ हुने

शुक्रबार, २९ पुष २०७९ १२:५६

पुष–२९,हेल्लो नेपाल ।
देवदह नगरपालिकाको वडा नम्बर ९ घोडाहा स्थित कोटियादेवी मन्दिरमा महायज्ञ सुरु हुने भएको छ । महायज्ञ आयोजक प्रचार समितिले महायज्ञ परिसरमा पत्रकार सम्मेलन गरी उक्त कार्यक्रमको बारेमा जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै महायज्ञ मुल आयोजक समितिका संयोजक मोहन जिसीले पुष ३० गते देखि माघ ७ गतेसम्म चल्ने श्रीमद्वागवत तथा धनधान्याञ्चल ज्ञान महायज्ञको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै कोटियादेवी मन्दिरको जिर्णेद्वार तथा धर्मशाला र योगा हल निर्माण गर्न महायज्ञ आयोजना गर्न लागिएको बताउनुभयो ।

विक्रम सम्बत २०२०–०२१ तिर निर्माण भएको ऐतिहासिक महत्व बोकेको कोटियादेवी मन्दिरको जिर्णेद्वार तथा विकास र धर्मशाला र योगा हल निर्माणको लागि भुमि व्यवस्थापन गर्न महायज्ञ गर्न लागिएको महायज्ञ मुल आयोजक समितिका संयोजक मोहन जिसीले जानकारी दिनु भयो ।

देवदहकै पुरानो शक्तिपीठ रहेको कोटियादेवी मन्दिरलाई यस क्षेत्रमा वृद्धि भैरहेको जनसंख्या अनुसार विस्तार गर्नुपर्ने भएको र त्यसको लागि भुमि व्यवस्थापन तथा संरचना निर्माण गर्न महायज्ञ आयोजना गर्न बताउदै महायज्ञका प्रमुख बाचक तथा महायज्ञ संकल्पकर्ता बालब्यास श्रवण न्यौपानेले महायज्ञ विशुद्ध धार्मिक र निःस्वार्थ सेवाभावसंग जोडिएको बताउंदै महायज्ञ अवधीमा सम्पूर्ण देवदहबासीले एकपटक कोटियादेवीको ’प्रसाद ग्रहण’ गरिदिन आग्रह गर्नुभयो ।

महायज्ञ संचालन र सम्पन्न गर्न आयोजकले तालिका नै सार्वजनिक गरेको छ । जसअनुसार पौष २९ गते १ बजेदेखि मोटरसाईकल र्याली, ३० गते १०ः३० बजेदेखि बाजागाजासहित, झाकी र कलशयात्रा, माघ १ गतेदेखि प्रत्येकदिन मण्डपपुजा, पाठ परायण, १ हजार ८ शालग्राम भगवानको परिक्रमा संगै तिलार्पण, ११ बजेदेखि ४ बजेसम्म प्रवचन, झाँकी र दानवीर सम्मान, ४ बजेदेखि आरती र टिका प्रसाद वितरण, बेलुका ७ बजेदेखि १० बजेसम्म भजन किर्तन गरिने आयोजकले जनाएको छ। साथै ’भक्तजन’को इच्छा अनुसार दैनिक ग्रह शान्ति, व्रतबन्ध, लक्षवर्ती लगायतका कार्यक्रम समेत महायज्ञमा हुने जनाईएको छ।