शुक्रबार, २८ चैत्र २०८१ २२:४७

नयाँ जिम्मेवारी सहित अघि बढ्यो नेकपा एमाले

शुक्रबार, १९ जेष्ठ २०८० १३:४६

काठमाडौं । नेकपा एमालेले  केन्द्रीय नेताहरूको जिम्मेवारीमा परिवर्तन गरेको छ ।एमालेले अध्यक्ष बाहेक उपाध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको जिम्मेवारी  परिवर्तन गरेको हो ।

पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकले  वरिष्ठ उपाध्यक्ष सहित ७ जना उपाध्यक्षलाई पार्टीका ३२ वटा विभागको संयोजनको  जिम्मा दिएको  उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

बैठकले योजना र नीतिसँग जोडिएका विषयको संयोजन गर्ने जिम्मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई, पूर्वाधार र विकास सुरेन्द्र पाण्डे, कृषि उद्यमशीलता रामबहादुर थापा, सामाजिक विकाससम्बन्धी काममा अष्टलक्ष्मी शाक्य, मानवस्रोत युवराज ज्ञवाली, सुशासन र सेवा प्रवाह सुवास नेम्वाङ, प्रशासन विष्णु पौडेल र बागमतीमा केन्द्रीय कार्यालयले गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले पार्टी सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ । जस अनुसार सुदूरपश्चिममा छविलाल विश्वकर्मा, कर्णालीमा लेखराज भट्ट, लुम्बिनीमा पद्मा अर्याल, गण्डकीमा गोकर्ण विष्ट, मधेस योगेश भट्टराई, कोशीमा रघुवीर महासेठ, बागमतीको केन्द्रीय कार्यालयले नै संयोजन गर्ने गरी निर्णय गरेको जनाएको छ ।

त्यसैगरी पार्टी केन्द्रीय संगठनको जिम्मेवारी काशीनाथ अधिकारी र प्रचारको जिम्मा राजेन्द्र गौतमले पाएका छन् ।  स्थायी कमिटी र पोलिटब्युरो सदस्यलाई जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यलाई पालिका इन्चार्जको जिम्मेवारी दिएको छ ।