शनिबार, ६ बैशाख २०८२ ००:५२

नेकपा (एमाले) ले पार्टीको १० औं महाधिवेशन चितवनमा गर्ने निर्णय

शुक्रबार, ५ कार्तिक २०७८ ०२:०१

कार्तिक ५, हेल्लो नेपाल ।

नेकपा (एमाले) ले पार्टीको १० औं महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ ।

बिहीबार ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्म चितवनमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समितिसमेत गठन गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, बिष्णु रिमाल, काशिनाथ अधिकारी, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावल हुनुहन्छ । समितिमा ७ वटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट एक÷एक जना प्रतिनिधि रहने ज्ञवालीले जानकारी दिनुभयो । बैठकले हालै सम्पन्न बिधान महाविधेशनको समिक्षा गर्दै भव्य र ऐतिहासिक रहेको निष्कर्ष निकालेको उहाले बताउनुभयो । बिधान महाविधेशनले पार्टीमा भावनात्मक एकता र आत्मविश्वास कायम गर्न सफल भएको प्रवक्ता ज्ञवालीले बताउनुभयो । बैठकले अविरल बर्षाका कारण भएका बाढी पहिरो र डुवानका कारण जनधनको क्षति भएको प्रति दुख व्यक्त गर्दै उचित राहत र क्षतिपूर्ति बितरण गर्न सरकारको ध्यानाकर्षण गराएको उहाले जानकारी दिनुभयो ।

त्यस्तै प्रवक्ता ज्ञवालीले सहमतिको १० बुदे प्रस्ताव कार्यान्वयन भइरहेको बताउनुभयो । उहाले सहमति कार्यान्वयनमा गइसकेको अवस्थामा अव पार्टी गतिविधिलाई अघि बढाउन अध्यक्ष केपी ओलीले आग्रह गर्नुभएको जानकारी दिनुभयो ।

त्यस्तै बैठकले सरकारले रेडक्रश र एनआरएन लगाएत सामाजिक संघसंस्थामाथि हस्तक्षेप गरेको भन्दै निन्दा गरेको र हस्तक्षेप तत्काल बन्द गर्न माग गरेको छ । स्थायी कमिटी बैठक शुक्रबार दिउँसो २ बजे पुन बस्ने छ ।