शनिबार, ६ बैशाख २०८२ ००:५९

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिए देशैभर आन्दोलन गर्ने चेतावनी

बुधबार, १० कार्तिक २०७८ ०६:१९

कार्तिक–१०, हेल्लो नेपाल ।
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिए देशैभर आन्दोलन गर्ने चेतावनी दिएको छ । नेपाल बारको सल्लाहकार समिति र कार्यसमितिको मंगलबार बसेको संयुक्त बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन आह्वान गर्दै राजीनामा नदिएमा देशभरका बार इकाई मार्फत आन्दोलन घोषणा गर्न बाध्य हुने निर्णय गरेको महासचिव लीलामणि पौड्यालले जानकारी दिनुभयो ।

बैठकले न्यायपालिकाको नेतृत्वमा रहेको व्यक्तिलाई भाग दिएको र न्यायाधीशहरूलाई मानपदवी दिएको भन्दै सरकारको पनि आलोचना गरेको छ। त्यस्तै, नेपाल बारले संविधान संशोधनको विषय पनि उठाएको छ । संवैधानिक परिषद्मा प्रधानन्यायाधीशको सहभागिता, संसदीय सुनुवाइमार्फत न्यायाधीशको नियुक्ति लगायतका विषयमा संविधान संशोधन गर्नुपर्ने नेपाल बारको ठहर रहेको पौड्यालले जानकारी दिनुभयो ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीशहरूसँग मंगलबार भएको भेटघाटमा प्रधानन्यायाधीश जबराले राजीनामा दिन अस्वीकार गर्नुभएको थियो ।