प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा विरुद्धको महाअभियोगलाई टुङ्गोमा पुराउनुपर्ने

फाल्गुन २, हेल्लो नेपाल ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोगलाई टुङ्गोमा पुराउनुपर्ने बताएका छन् ।
आइतबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा धारणा राख्ने केन्द्रीय सदस्यहरुले महाअभियोगलाई टुंगोमा पुर्याउनुपर्ने विषयमै जोड दिएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकमा सरकारका प्रवक्ता समेत रहेका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले महाअभियोग दर्ता भएको औपचारिक जानकारी गराउनुभएको थियो ।
न्यायालयभित्र जारी गतिरोध आन्तरिक समझदारीबाटै समाधान होस भन्ने चाहना पूरा हुन नसकेकोले महाअभियोगको विकल्प नदेखिएको प्रवक्ता महत्तले बताउनुभयो । लामो समयदेखि सर्वोच्च अदालतमा देखिएको गतिरोध न्यायालयभित्रकै सरोकारवावाहरुको संवाद र सहकार्यबाट समाधान होस भन्ने चाहना पूरा हुन नसकेको र संवैधानिक निकास दिन प्रतिनिधिसभाका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएको प्रवक्ता महत्तले बताउनुभयो । त्यस्तै बैठकमा एमसीसीलाई पारित गराउनुपर्नेमा एकमत रहेको उहाले बताउनुभयो । बैठकमा बिभिन्न बिषयमा नेताहरुले धारणा राख्ने क्रम सकिएको र मंगलबार बस्ने बैठकले आवश्यक निर्णय गर्ने प्रवक्ता महतले बताउनुभयो ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी, विधानतः रिक्त भएका र म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाका बिषयमा छलफल हुँदै आएको थियो ।
्