शनिबार, ६ बैशाख २०८२ ०७:१९

राष्ट्रिय राजनीतिको मियो एमाले हो – सचिव विश्वकर्मा

शुक्रबार, ९ पुष २०७८ १५:४५

पौष ९, हेल्लो नेपाल ।

नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले संविधानमा व्यवस्था भएको मर्मलाई पालना गर्ने पहिलो पार्टी एमाले भएको बताउनु भएको छ । पार्टीको रुपन्देही जिल्ला कमिटीको वैठकलाई सम्बोधन गर्दै विश्वकर्माले एमालेले तयार पारेको विधीलाई अन्य दलले समेत अनुशरण गर्दै गएको उल्लेख गर्नु भयो । पार्टीका लुम्बिनी प्रदेश ईन्चार्ज समेत रहनु भएका विश्वकर्माले पार्टीको सवै तहमा समावेशी सहभागितालाई एमालेले पुर्ण रुपमा पालना गरेको औंल्याउदै केन्द्र देखि वडा तहसम्म त्यसको तस्वीर प्रष्ट देखिएको दावी गर्नु भयो ।

कार्यकर्ताहरुले पार्टी हितलाई केन्द्रमा राखेर अघि बढनु पर्ने बताउदै विश्वकर्माले पार्टी लहड र भावनाको आधारमा नचल्ने भन्दै नीति, विधि र पद्धतिमा आधारित भएर पार्टी काम गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको थियो । पार्टीलाई मजबुत र एकतावद्ध बनाउन हरेक तहबाट ५ वटा सुझाव संकलन गर्नु पर्ने बताउदै उहाले त्यसरी प्राप्त हुने सुझावले पार्टीलाई बलियो र शसक्त बनाउने धारणा राख्नु भएको थियो । केन्द्रीय सचिव विश्वकर्माले जबजको निर्देशन र त्यसको आलोकबाट अघि बढेको एमाले सहि र ठिक ढंगले अघि बढेमा देशको सम्वृद्धी पनि गतिशील भएर अघि बढ्ने बताउनु भयो । उहाले भन्नू भयो, “राष्ट्रिय राजनीतिको मियो एमाले हो । एमालेको अगुवाईमा मात्रै देशले निकास पाउछ ।” वर्तमान सन्दर्भमा देखिएका चुनौतीलाई छिचोलेर अघि बढन कार्यकर्ताले जनता र पार्टी नेतृत्वले कार्यकर्तालाई आधार मानेर काम गर्नु पर्नेमा जोड दिदै विश्वकर्माले विपक्षी र गठबन्धनका मोर्चालाई ध्यान राखी निर्वाचनको तयारीमा लाग्नु पर्ने बताउनु भयो ।

पार्टीका जिल्ला अध्यक्ष तथा केन्द्रीय कमिटी सदस्य शिवराज सुवेदीको अध्यक्षता र सचिव जागेश्वरी चौधरीको संचालनमा भएको वैठकमा पार्टीका केन्द्रीय कमिटी सदस्य तथा रुपन्देही ईन्चार्ज भुमिश्वर ढकाल, प्रदेश कमिटी उपाध्यक्ष भोज प्रसाद श्रेष्ठ ,जिल्ला उपाध्यक्ष पुरुषोत्तम घिमिरे लगायतले बोल्नु भएको थियो । वैठकले पार्टीको दशौ जिल्ला अधिवेशन पौष २३ र २४ गते भैरहवामा सम्पन्न गर्ने निर्णय गरेको छ ।