शुक्रबार, २८ चैत्र २०८१ २१:४२

वर्तमान सरकार नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न प्रतिवद्ध- प्रधानमन्त्री देउवा

बुधबार, ११ श्रावण २०७९ ०७:५८

साउन ११,

प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा राससको केन्द्रीय कार्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्र देउवाले आफू सदैव पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा अडिग रहेको भन्दै नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो । लोकतान्त्रिक शासन प्रणालीमा प्रेस स्वतन्त्रता सम्भव हुने भन्दै उहाले लोकतान्त्रिक प्रणालीको पक्षधरतामा मुलुकको प्रेस उभिनुपर्ने उल्लेख गर्नुभयो । तथ्यहीन, भ्रामक र समाजमा द्वेष फैलाउने वा अतिरञ्जना पैदा गर्ने सूचनाले नागरिकमा भ्रम सिर्जना गर्ने र पत्रकारिताको मूल मर्ममाथि पनि प्रहार गर्ने भएकाले यसप्रति सजक रहन उहाले आग्रह गर्नुभयो । उहाले नेपालका सञ्चारमाध्यमहरूलाई पनि समय र युग सुहाउँदो रुपमा थप अद्यावधिक र परिमार्जित गर्दै लैजानुपर्ने पनि बताउनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विचार तथा अभिव्यक्ति स्वतन्त्रता प्रेस स्वतन्त्रता र मिडिया बहुलवादप्रति वर्तमान सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले स्वच्छ र सत्यतथ्य आलोचनाले प्रजातन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

विसं २०७२ को विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त रासस भवन तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट प्राप्त रु १६ करोड ८६ लाखको लागतमा निर्माण सम्पन्न भएको हो ।