शुक्रबार, २८ चैत्र २०८१ २१:३७

संविधान जोगाउनकै लागी गठबन्धनः नेता आचार्य

बुधबार, ३० कार्तिक २०७९ ०८:५८

अर्घाखाँची ३०,कार्तिक,हेल्लो नेपाल ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव डिलाराम आचार्यले संविधान जोगाउन गठबन्धन गर्नुपरेको बताउनुभएको छ । बुधबार रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशको आयोजनामा सन्धिखर्कमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेता आचार्यले जनताको संघर्ष र बलिदानबाट प्राप्त अधिकार केपी ओलीले मास्न खोजेपछि संविधान जोगाउनकै लागी पाँच दलिय गठबन्धन गर्नुपरेको बताउनुभएको हो ।

उहाँले पाँच दलिय गठबन्धन सत्ता स्वार्थका लागी नभई मध्यरातमा राष्ट्रपतिकोमा प्रधानमन्त्री पुगेर संसद विघटन गर्ने, संविधान मास्ने काम भएकाले संविधान जोगाउनकै लागी पाँच दलिय गठबन्धनले निरन्तरता पाएको जिकिर गर्नुभयो । नेता आचार्यले माओवादी जनयुद्वका गम्भीर विषयमा एमाले सधै भाग्ने गरेको आरोप लगाउदै यसको समाधानमा माओवादी केन्द्र र नेपाली कांग्रेस शान्ति प्रक्रिया देखि अहिलेसम्म विभिन्न चरणका समस्या समधानमा गर्न एकसाथ अगाडि बढेको तर्कगर्नुभयो । उहाँले निर्वाचनमा देशभरमा गठबन्धनको दुई तिहाई आउने समेत दाबी गर्नुभयो ।

त्यस्तै साक्षात्कार कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पुर्व पर्यटन राज्यमन्त्री रेवती प्रसाद भुसालले अर्घाखाँचीमा गठबन्धनका उम्मेदवार प्रतिनिधी सभा सदस्यमा पुष्पा भुसालले चुनाव जित्ने दाबी गर्नुभयो । उहाँले अर्घाखाँचीबाट पटक पटक चुनाव जितेको एमालेका सचिव टोपबहादुर रायमाझीलाई यस पटक जनताले पाखा लगाउने ठोकुवा गर्नुभयो । भुसालले चुनाव जितेर जिल्लाको विकास ,समृद्वी नगर्ने दल र नेतालाई जनताले राम्रोसगँ चिनिसकेकोले अब अर्घाखाँचीमा गठबन्धनको जीत सुनिश्चित भएको बताउनुभयो ।

यसैगरी नेकपा एमाले केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्का (उज्ज्वल) ले अर्घाखाँचीमा टोपबहादुर रायमाझीको विकल्प नभएको बताउनुभयो । उहाँले स्वार्थका लागी बनेको गठबन्धनको औचित्य नभएको बताउदै समृद्ध अर्घाखाँची,सुन्दर अर्घाखाँची र दुनियाँले चिन्ने अर्घाखाँची बनाउन टोपबहादुर रायमाझीलाई जनताले खोजेको जिकिर गर्नुभयो । उहाँले अर्घाखाँचीको विकास निर्माण, सम्वृद्धिका लागी रायमाझीले गरेको योगदानलाई जनताले राम्ररी बुझेकाले रायमाझीको जीत सुनिश्चित भएको ठोकुवा गर्नुभयो ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य आलोक रायमाझीले नेकपा एमाले पार्टी नभई केपी ओलीको प्रा.लि रहेको बताउनुभयो । उहाँले जिल्लाबाट लगातार तीन पटक सम्म निर्वार्चित भएर विकासको नाममा टोपबहादुर रायमाझीले ठुलो भष्ट्राचार गरेकाले अब जनताले यसको हिसाब किताब खोज्ने बताउनुुभयो ।

कार्यक्रम रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षता र सन्तोष केसीको कार्यक्रम संचालनमा सम्पन्न भएको थियो ।