शनिबार, ६ बैशाख २०८२ ०१:३७

सर्वोच्च शिखर सगरमाथाको आरोहण देखि एमालेको वडा अध्यक्ष सम्म

आईतवार, १४ कार्तिक २०७८ १३:४९

कार्तिक १४, हेल्लो नेपाल ।
भारतीय सेनाबाट सुवेदार पदमा सेवा निवृत तिलविक्रम बुढाथोकीमगर नेकपा एमालेको दशौ महाधिवेशनको क्रममा भएको वडा अधिवेशनबाट देवदह नगरपालिका वडा न ७ को अध्यक्ष पदमा सर्वसम्मत चयन हुनु भएको छ ।

२८ बर्षे सैनिक जीवन व्यतित गरेर घर फर्कनु भएका बुढाथोकीमगर पार्टी कार्यकर्ताको वीचमा लोकप्रिय भएकै कारण सर्वसम्मत रुपमा अध्यक्षका रुपमा छानिनु भएको हो ।

विद्यार्थीकाल देखि नै कम्युनिष्ट राजनीतिबाट प्रभावित रहनु भएका बुढाथोकी सामाजको रुपान्तरण गर्न कम्युनिष्ट विचार मात्रै प्रभावशाली रहेको दावी गर्नु हुन्छ ।
उहाँ भन्नुहुन्छ – समानता, समृद्धि र सामाजिक न्याय सहितको परिवर्तन एमालेबाट मात्रै सम्भव छ ।

सेवा निवृत्त पछि टोल विकास संस्था , विभिन्न सामाजिक संघ , नेपाल मगर समाजमा कृयाशिल बुढाथोकी पार्टी काममा समेत निरन्तर लागि रहनु भएको थियो ।
पल्टनमै कार्यरत रहदा देखि नै पार्टी सदस्यता प्राप्त गर्नु भएका उहाँले घर विदामा आउदा समेत पार्टी काममा खटिने गर्नु हुन्थ्यो ।

फरक काम गरेर समाजको पहिचान कायम राख्नु पर्छ भन्ने धारणा राख्नु हुने बुढाथोकीले पल्टनबाट नै विश्वको सर्वोच्च शिखर सगरमाथा  २ पटक  आरोहण गर्नु भएको छ ।
भारतीय सेनाबाट सगरमाथा आरोहण गरे पनि नेपाली राष्ट्रिय झण्डा सगरमाथाको शिखरमा फहराउदा अत्यन्तै गर्वानुभुती भएको बताउदै उहाले भन्नू भयो- राष्ट्र र राष्ट्रियता प्रतिको भावना जहाँ रहे पनि सदैव उच्च रहन्छ ।

राजनीति विना समाजको विकास सम्भव छैन । राजनीतिकै कारण समाजको गतिशीलता अघि बढेको छ भन्नू हुने बुढाथोकीले नेकपा एमालेको विचारले नै यो देशलाई अघि बढाउने दावी गर्नु हुन्छ ।

पार्टीले दिएको जिम्मेवारीलाई पूरा गर्दै नेकपा एमाले प्रतिको जनलहर कायम गर्न आफू निरन्तर रुपमा लाग्ने बुढाथोकीले बताउनु भयो ।