शनिबार, ६ बैशाख २०८२ १८:३३

अफगानिस्तानमा रहेका नेपालीहरुलाई तत्काल हवाईमाध्यमबाट उद्धार गर्न सरकारलाई निर्देशन

सोमबार, ३२ श्रावण २०७८ ०१:२१

साउन-३१, हेल्लो नेपाल ।

प्रतिनिधिसभा अन्तर्गतकोे अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका नेपालीहरुलाई तत्काल हवाईमाध्यमबाट उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले तालिबानले राज्य सत्ता कब्जा गर्ने गरी अफगानिस्तानको राजधानी काबुल प्रवेशगरेसंगै नेपालीको सुरक्षाका लागि गम्भीर हुँदै नेपालीहरुलाई तत्काल हवाईमाध्यमबाट उद्धार गर्न सरकारलाई निर्देशन दिएको हो । समिति सभापति पवित्रा निरौलाले अफगानस्थानको अवस्था बिग्रदै गएका बेला त्यहा रहेका नेपालीहरुको सुरक्षा गर्नुपर्ने बताउनुभयो । यस बिषयमा सरकार गम्भीर भएर आफ्ना नागरिकलाई उद्धार गर्न निर्देशन दिइएको उहाले बताउनुभयो । त्यस्तै बैठकले बैदेशिक रोजगारमा गएका नागरिकको हक हित र अधिकारका लागि नियमित रुपमा परराष्ट्र मन्त्रालयमा बैदेशिक रोजगारमा जानेको आवश्यक तथ्याङ उपलव्ध गराउन श्रम मन्त्रालयलाई निर्देशन दिएको सभापति निरौलाले बताउनुभयो ।

बैठकमा परराष्ट्र मन्त्रालयका सचिव भरत पौडेलले नेपालीहरुबारे बुझ्न, आवश्यकता अनुसारको उद्धारको कार्यका लागि समिति गठन भएको जानकारी दिनुभयो । काबुल हेर्ने दिल्लीस्थित नेपाली दूतावासले सम्पर्कमा नरहेका नेपालीलाई सम्पर्क गर्न सूचना जारी गर्ने तयारी गरिएको र आफ्नोबारेमा अनलाइनमार्फत जानकारी गराउन सक्ने व्यवस्था गरिएको उहाले बताउनुभयो ।

सरकारसँग रहेको औपचारिक तथ्यांकमा १५ सय नेपाली राजधानी काबुलमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।