शनिबार, ६ बैशाख २०८२ १७:३९

अदालतमा रहेको बिषयलाई सदनमा बिरोध गरेर एमालेले कानुनको उल्लंघन गरेको छ-नेपाल

शुक्रबार, १ आश्विन २०७८ ०९:४५

असोज–१,हेल्लो नेपाल ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बिगतको कमि कमजोरीलाई दोहरिन नदिने गरि पार्टी अघि बढ्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंको तीनकुनेस्थित पार्टीको नयाँ केन्द्रिय कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई संस्थागत गर्दै बिगतको कमि कमजोरीलाई दोहोरिन नदिने गरि अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

उहाले नेता र पार्टीका साथै राजनीतिमा देखिएका बिकृतिका बिरुद्ध उभिने प्रण गर्नुभयो । नेता नेपालले अहिले कुनै पार्टीसंग एकता हुन नसक्ने भन्दै चुनावमा भने तालमेल हुने धारणा राख्नुभयो । नेपालले अहिले बनेको गठबन्धन चुनावसम्म मात्र नभएर लामो समयसम्म सहकार्य हुने ठोकुवा गर्नुभयो ।

त्यस्तै अध्यक्ष नेपालले सर्वोच्चले नै दलको ह्वीप नलाग्ने आदेश दिएको भन्दै आफ्ना सांसदलाई कारवाही हुनुपर्छ भन्ने कुराको कुनै औचित्य नभएको बताउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएको नेपालले एमाले अध्यक्ष केपी ओलीले गुटबन्दी गरेको र पार्टीमा एकलौटी गर्न खोजेको भन्दै व्यक्तिबादमा डुवेको व्यक्तिले नियमको कुरा गर्न नसुहाउने तर्क गर्नुभयो । अदालतमा रहेको बिषयलाई सदनमा बिरोध गरेर एमालेले कानुनको उल्लंघन गरेको आरोप लगाउनुभयो ।

नेकपा एमालेसंग अलग्गिएर बनेको नेकपा एकीकृत समाजवादीले शुक्रबारबाटै कार्यालयबाट नियमित काम सुरु गरेको छ ।