शनिबार, ६ बैशाख २०८२ ०६:२२

संघीय संसद् सञ्चालनमा जिम्मेवार बन्न एमाले अध्यक्ष केपी ओलीलाई आग्रह

बिहीबार, १४ आश्विन २०७८ ०७:०८

असोज १४, हेल्लो नेपाल ।

प्रधानमन्त्री शेर बहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठकले संसद सुचारु गर्ने विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुन एमालेलाई आग्रह गरेको छ ।

बालुवाटारमा बिहीबार बसेको बैठकले संघीय संसद् सञ्चालनमा जिम्मेवार बन्न एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गरिएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । बैठकमा सवै दललाई आमन्त्रण गरिएपनि नेकपा एमाले सहभागी नभएको उहाले बताउनुभयो ।

उहाले एमाले संवाद र वार्ताबाट भाग्न खोजेको र जुन कुरा मुलुकको आवश्यकताभन्दा भिन्न रहेको उल्लेख गर्नुभयो । बैठकमा प्रधानमन्त्री देउवाले आगामी दिनमा पनि बैठक राखेर एमालेलाई आमन्त्रण गर्ने र छलफलमा एमाले सहभागी हुने अपेक्षा गर्नुभएको कार्कीले बताउनुभयो । संसदमा ३३ वटा बिधेयक रहेकाले अहिले संसद आवश्यक रहेको उहाको भनाई छ ।

१४ जना सांसदहरुलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालले गत २३ भदौबाट संघीय संसद्का बैठकहरुमा निरन्तर अवरोध पु¥याउँदै आएको छ । यसअघि बसेको राष्ट्रियसभा बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले गतिरोध अन्त्यका लागि सर्वदलिय बैठकमार्फत निकास खोज्न रुलिङ गरेपछि बैठक बोलाएको प्रवक्ता कार्कीले बताउनुभयो ।