बागमती प्रदेशको मुख्यमन्त्री शाक्यको पद धरापमा : विश्वासको मत लिंदै

कार्तिक ५, हेल्लो नेपाल ।
बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतमाथिको थप प्रक्रिया आगामी कात्तिक १० गते हुने भएको छ ।
बिहीबारको बैठकमा मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएपछि सभामुख सानुकुमार श्रेष्ठले कात्तिक १० गतेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गर्नुभएको हो । त्यसअघि बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मत माग्नुभएको थियो । उहाले आफू नेतृत्वको सरकारले समाजवाद उन्मुख सरकारको प्रारम्भिक खाका नै तयार भएको भन्दै त्यसको सार्वजनिक गर्ने तयारी रहेको बताउनुभयो । शाक्यले सबै दललाई सरकारलाई सघाउन र सरकारको व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्नुभयो ।
प्रदेशसभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले विपक्षीले सरकारलाई विश्वासको मत लिने समय दिएको भन्दै शाक्यलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्नुभयो ।
कांग्रेसका संसदीय दलका नेता इन्द्र बानियाँले आफूहरु संविधान र शासन व्यवस्थाका लागि आफूहरुले गठबन्धन बनाएको भन्दै अब नयाँ सरकार बन्ने बताउनुभयो । तत्काल विश्वासको मत लिने प्रक्रिया टुंग्याउन आग्रह गर्दै उहाले राजा र राणा फालेको कांग्रेसले एमालेसँग कुनै सहकार्य नगर्ने बताउनुभयो ।
बैठकमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले आफू मुख्यमन्त्रीको उम्मेदवार भएको भन्दै अब विपक्षी गठबन्धनको सरकार निर्माण हुने बताउनुभयो । पाण्डेले प्रतिगमनकारीको कित्तामा उभिएको व्यक्तिलाई साथ दिन नसकिने स्पष्ट पार्नुभयो ।
शाक्यलाई हटाउदै समाजवादी र कांग्रेसले आलोपालो सरकार गठन गर्ने निर्णय गरिसकेको छ । भाद्र २ गते ठूलो दलको हिसावले मुख्यमन्त्री बन्नुभएकी शाक्यले २२ असोजमा प्रदेशसभाको सचिवालयमा विश्वासको मत लिन प्रस्ताव दर्ता गर्नुभएको थियो ।