अदालतलाई युद्ध मैदान बनाउन खोजेको भन्दै आपत्ती

मंसिर ३, हेल्लो नेपाल ।
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशविरुद्ध चलिरहेको आन्दोलनमा प्रहरीमार्फत दमन गरेर अदालतलाई युद्ध मैदान बनाउन खोजेको भन्दै आपत्ती जनाएको छ ।
बिहीबार काठमाडौंमा आकस्मीक बैठकपछि पत्रकार सम्मेलन गर्दै बारले आफुहरुको आन्दोलनमाथि हतियारधारी प्रहरी लगाएत आक्रमण गरेको भन्दै आक्रमणको अनुसन्धान र आगामी कार्यक्रममा अनुगमन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धी संघसंस्थालाई बारले अनुरोध समेत गरेको छ । त्यस्तै बारले प्रधानन्यायधिशले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेको छ ।
पत्रकार सम्मेलनमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले दंगा प्रहरीसाथ एसएलआर जस्तो युद्धका बेला प्रयोग गरिने हतियारधारी प्रहरी प्रवेश गराएर न्यायको मन्दिरलाई युद्ध मैदान बनाउने कार्य कदापी स्वीकार्य हुन नसक्ने बताउनुभयो । उहाले शुक्रबार तीन बजेसम्म पनि प्रधानन्यायधिशको राजीनामा नआए थप शसक्त कदम चाल्ने चेतावनी दिनुभयो । उहाले प्रधानन्यायधिश भ्रष्टाचारको नाईके भएको दोहराउदै प्रधानन्यायधिशको राजीनामाका साथै सर्वोच्चको प्रतिवेदन लागू हुनुपर्ने आफुहरुको माग रहेको जनाउनुभयो । अध्यक्ष श्रेष्ठले गोला प्रथाबाट प्रधानन्यायाधीशको अधिकार कटौती हुने भएपनि राजीनामा नै दिनुपर्ने उल्लेख गर्नुभयो । प्रधानन्यायधिशले तोकेको इजलासमा जानु भनेको अरु न्यायधिश पनि दुषित हुनु भएको उहाको भनाई छ ।
पत्रकार सम्मेलनमा बारका उपाध्यक्ष इश्वरी प्रसाद भट्टराईले घटनाले स्वतन्त्र न्यायपालिकामाथि नै प्रहार भएको जिकिर गर्नुभयो । बारमा भएको घटनाको छानबिन गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय मानवअधिकार आयोगलाई आह्वान गरेको उहाले बताउनुभयो ।
त्यस्तै भट्टराईले अधिवक्तामाथि आक्रमण गर्ने उद्देश्यसहित बार परिसरभित्र केही व्यक्ति प्रवेश गरेको घटनाबारे पनि छानबिन हुनुपर्ने माग गर्नुभयो ।