प्रतिगमनकाविरुद्ध पनि संघर्ष गरेर संविधानको रक्षा गर्न सफल भएको दाबी- मन्त्री शर्मा

मंसिर १४, हेल्लो नेपाल ।
अर्थमन्त्री जनार्दन शर्माले नेकपा माओवादी केन्द्रले प्रतिगमनकाविरुद्ध पनि संघर्ष गरेर संविधानको रक्षा गर्न सफल भएको दाबी गर्नुभएको छ ।
सोमबार प्रेस सेन्टर नेपाल काठमाडौ जिल्लाको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले माओवादी केन्द्रले संघीय लोकतान्त्रि गणतन्त्र स्थापना गर्न नेतृत्व गरेको र जनयुद्ध जनआन्दोलनलाई अघि बढाउदै पछिल्लो समय प्रतिगमनकाविरुद्ध पनि संघर्ष गरेर संविधानको रक्षा गर्न सफल भएको दाबी गर्नुभएको हो ।
उहाँले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सामन्तवादको विरुद्ध लड्न नयाँ कार्यदिशा नबनाएको भए र सो अनुसारको उत्पीडित वर्ग जाति क्षेत्र र समुदायलाई आग्रह नगरेको भए नेपालमा सामन्तवादको अन्त्य हुनेमा कल्पना समेत गर्न नसकिने बताउनुभयो । उहाँले पार्टी नेतृत्वले उठाएका मुद्धाहरु राष्ट्रको एजेण्डा बनेको र त्यही एजेण्डाका आधारमा देश चलिरहेकाले राजनीतिक नेतृत्व गर्ने माओवादी हो र अध्यक्ष प्रचण्ड नेतृत्व गर्न सक्षम हुनुहन्छ भन्ने कुरा स्थापित गर्न नसक्दा विगतमा पार्टीमा अनेक खालका अन्यौलताहरु सिर्जना भएको बताउनुभयो ।
त्यस्तै उहाँले प्रेस सेन्टर नेपाल काठमाडौ जिल्लाका प्रतिनिधिलाई क्षमताको अभिवृद्धि गर्दै जनतासँग सम्बन्धि विभिन्न विधाहरुमा विश्लेषणात्मक समाचारहरु तथा सुचना प्रवाह गर्नेतर्फ केन्द्रित हुन आग्रह गर्नुभयो ।