‘समृद्ध लुम्बिनी,आत्मनिर्भर प्रदेश’ को दीर्घकालीन सोच र लक्ष्य राखेर नीति तथा कार्यक्रम सार्वजनिक
जेठ–२५,हेल्लो नेपाल ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभाको बुधबारको बैठकमा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सरकारको नीति कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
प्रमुख शेरचनले ‘समृद्ध लुम्बिनी,आत्मनिर्भर प्रदेश’ को दीर्घकालीन सोच र लक्ष्य राखेर नीति कार्यक्रम बनाइएको उल्लेख गर्नुभयो । उहाँँले राजधानी व्यवस्थापनका लागि सङ्घीय सरकार र स्थानीय तहसँग निरन्तर समन्वय गरिने बताउनुभयो । बुटवललाई प्रदेशको आर्थिक राजधानीको रुपमा र कपिलवस्तुलाई सांस्कृतिक राजधानीको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रदेशसभाले निर्धारण गरेको राजधानी क्षेत्रलाई समेटी नयाँ नगरपालिकाको रुपमा विकास गर्ने प्रक्रियाको थालनी गरिने छ । शिक्षाको गुणस्तर सुधार गर्न मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमको प्रभावकारीरुपमा कार्यान्वयन गरिने जनाइएको छ । प्रदेशस्तरीय नमूना विद्यालय छनोट गरी कार्यक्रम कार्यान्वयन गरिने छ भने वैकल्पिक शिक्षण सिकाइ प्रणालीको विकास र विस्तार गर्ने नीत तथा कार्यक्रममा उल्लेख छ ।
कृषि पूर्वाधार, बजार सूचना प्रणाली, उद्यमशीलता र गुणस्तर कायम गर्दै प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरिने कार्यक्रममा उल्लेख छ । नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार उत्पादनलाई उद्योगसँग जोड्ने गरी विद्यमान ‘मिसन कार्यक्रम’लाई निरन्तरता दिँदै बृहत् पकेट, ब्लक क्षेत्रको विकास गर्दै लगिनेछ । ‘एक स्थानीय तह ,एक नमूना कृषि वन’ कार्यक्रम सञ्चालन गरिनेछ ।
नदी क्षेत्र, सार्वजनिक तथा निजी जमिन, खोला किनारा लगायत खाली क्षेत्रमा वृक्षरोपण अभियान सञ्चालन गरिने कार्यक्रममा उल्लेख छ ।