शनिबार, ६ बैशाख २०८२ १७:३३

गठबन्धनभित्र बसेर वामपन्थी एकताको कुरा गर्न सुहाँउदैन-ओली

शनिबार, ३२ असार २०७९ १३:१९

असार–३१,हेल्लो नेपाल ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकता चाहने भए कांग्रेसको गठबन्धन छाडेर आउन चूनौति दिनुभएको छ । नेपाल चीन हिमालयल मैत्री समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ओलीले साँच्चिकै बामपन्थी हो भने कांग्रेसको साथ छाडेर बामपन्थी एकतामा आउन माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई चूनौति दिनुभएको हो ।

उहाँले कम्युनिस्ट सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउनका लागि अदालतमा मुद्धा हाल्न समेत बामपन्थी भन्नेहरु नै अदालत गएको जिकिर गर्नुभयो । उहाँले गठबन्धनभित्रै बसेर वामपन्थी भनेर एकताको कुरा गर्न नसुहाउने बताउनुभयो । उहाँले एमालेसंग मिलेर देश, लोकतन्त्र र मुलुकका लागि काम गर्ने सरकार बनाउन समेत आह्वान गर्नुभयो ।

अध्यक्ष ओलीले बिगतमा भएका गल्ती कमजोरीलाई सच्चाउदै राष्ट्रिय हितलाई सर्वोपरि राखेर दलहरु अघि बढ्नुपर्ने बताउनुभयो । ओलीले एमसीसीका नाममा आफुलाई बद्नाम गर्ने कोशिस भएको भन्दै आफुले देश र जनता बिपरित कुनै पनि काम नगर्ने स्पष्ट पार्नुभयो ।

राष्ट्रियताका बिषयमा संसदमा छलफल हुुनुपर्ने भएपनि संसदले राष्ट्रियता आकाक्षां बिपरित अंकगणितिय अभ्यासमा काम गरेको तर्क गर्नुभयो । उहाले वर्तमान गठबन्धन स्वार्थका लागि भएको र एउटा काम पनि देश र शुसासनका लागि गर्न नसकेको बताउनुभयो ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले घटनाक्रमको विषयवस्तुमा गम्भीर आत्मसमीक्षा गर्दै वामपन्थीहरु एक हुनुपर्ने बताउनुभयो । उहाले नेपाली भूमि वा राजनीतिलाई प्रयोग गर्ने खेल भएको भन्दै सवै सचेत रहनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा कांग्रेस नेता चन्द्र भण्डारीले नेपालले भारत र चीनबाट लाभ लिनसक्नुपर्ने बताउनुभयो । उहाले नेपाल असंलग्न भएको बताउँदै युक्रेन बनाउने बाटोमा जान नहुने जिकिर गर्नुभयो ।