वडा अध्यक्ष सरोज अधिकारीद्वारा आफुले पाउने सेवा सुविधा विद्यालयलाई हस्तान्तरण
सियारी,असार २८
रुपन्देहीको सियारी गाउँपालिका-७ का वडा अध्यक्ष सरोज अधिकारीले वडा अध्यक्षको हैसियतले आर्थिक वर्ष २०७७/०७८ मा आफुले पाएको सेवा सुविधा बापत प्राप्त रकम नगद ३ लाख २८ हजार ६ सय ८० रुपैयाँ सियारी गाउँपालिका-७ स्थित समयमाई माध्यमिक विद्यालयलाई कल्याणकोष स्थापना हेतु एवं शैक्षिक गुणस्तर अभिवृद्धि का साथै विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने कार्यमा टेवा पुगोस् भन्ने अभिप्रायले प्रदान गर्नुभएको छ । यसै गरि आफुले पाउने नियमानुसारको बैठक भत्ता वापतको ६|६ महिनाको रकम अति विपन्न एवं आर्थिक स्थिति कमजोर रही दैनिक जीवनयापन गर्न कठिनाई परेका परिवारलाई उपलब्ध गराउँदै आउनुभएको मा गत माघ देखि असार सम्मको जम्मा रु. २८,०५०।- वडा नं. ७ भर्थापुर निवासी सीता देवी उपाध्यायलाई हस्तान्तरण गर्नुभएको छ ।सियारी गाउँपालिका वडा सदस्यहरु लक्ष्मी वि.क. विनोद कुमार मल्लाह ,सितादेवी थारु ,वडा सचिव चिरञ्जीवी अधिकारीको उपस्थितिमा
समयमाई मा.वि.का प्रधानाध्यापक हिरालाल ज्ञवालीलाई ३ लाख २८ हजार ६ सय ८० रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो। वडा अध्यक्ष सरोज अधिकारीले अघिल्ला वर्षहरुमा पनि आफुले पाउने सम्पूर्ण सेवा सुविधा सामाजिक कार्यमा प्रयोग गर्दै आउनुभएको छ।


आर्थिक वर्ष २०७६/०७७ मा आफुले पाउने कुल रकम सियारी गाउँपालिका -७ स्थित राम जानकी प्रा.वि. तथा आर्थिक वर्ष २०७५/०७६ मा सियारी -७ स्थित आकास रवि प्रा.वि.लाई विद्यालयको उन्नति एवं विकासको लागि प्रदान गर्नुभएको थियो। त्यसै गरि आ.व. २०७४/०७५ मा आफुले पाउने सेवा सुविधाको रकम मध्य स्थानीय एकल अपांग महिला सरस्वती महर्जनको बच्चाको पढाई खर्चको लागि बच्चाको नाममा गण्डकी विकास बैंकमा एक लाख रुपैया डिपोजिट गर्नुभएको थियो। ५ वर्ष सम्म प्राप्त भएको व्याजले वच्चाको पढाइ खर्च गर्न सकिने र पाँच वर्ष पछि निकालेर पिडित महिलाले आवश्यकता अनुसार खर्च गर्न मिल्ने गराइएको छ। आर्थिक वर्ष ०७४/०७५ को वाकी रकम सामाजिक सेवामा खर्च गरिएको वडा अध्यक्ष सरोज अधिकारिले बताउनु भयो। त्यसै गरि आर्थिक वर्ष २०७८/०७९ मा पनि वडा अध्यक्षको हैसियतले आफुले पाउने सम्पूर्ण सेवा सुविधा वापतको रकम सियारी-७ गोठवा स्थित त्रिवेणी आधारभुत विद्यालयलाई प्रदान गर्ने घोषणा समेत गर्नु भयो। “जनताको पीर मर्कामा सदैव साथ दिने प्रण का साथ समाजसेवामा अग्रसर रहनेछु” वडा अध्यक्ष अधिकारिले भन्नुभयो।

