तिहारका अवसरमा उल्लासपूर्वक देउसीभैलो

कार्तिक–७,हेल्लो नेपाल । तिहारका अवसरमा उल्लासपूर्वक देउसीभैलो खेलिएको छ ।
देउसीभैलो खेलेर घरधनीलाई आशीर्वाद दिने गर्दछन् । तिहारको पाँचौँ दिनसम्म नै विभिन्न मनोरञ्जनका साथ घरघरामा गएर देउसी खेली रमाइलो गरिन्छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् ।
केही युवा समूह मिलेर परम्परा धान्न र सामाजिककार्यका निम्ति देउसीभैलो खेल्ने गरेका छन् । उनीहरुले साँझ मात्रै नभएर दिउसै पनि देउसीभैलो खेलेका छन् ।
देउसी र भैलोको प्रसंगमा बलिराजाको कथा जोडिएर आउँछ । पौराणिक कथन अनुसार दानवराज बलिले वामन अवताररूपी विष्णुले मागेको तीन पाइला जमिन मध्ये दुई पाइलामा सम्पूर्ण भू–भाग ढाकिएकोले तेस्रो पाइलामा आफ्नो शिर दिएका थिए ।
त्यसबेला विष्णुले ‘देऊ शिर’ भनी मागेकाले अपभ्रंश भई अहिले देउसीको गाथा चलेको संस्कृतिबिद्हरुको भनाई छ । आफ्नो सर्वस्वहरण भई पाताल पुगेका बलिलाई विष्णुले वर्षको तीन दिन पृथ्वीमा तिम्रो आधिपत्य रहनेछ भन्ने वरदान दिएको सम्झना गर्दै मानिसहरूले देउसी र भैलो खेल्ने परम्परा चलाएको कथन छ ।