१०८ शिवलिंग स्थापनासँगै १०८ पीपल वृक्षरोपण कार्यक्रम: आज साँझ देखि भोलि बिहानसम्म अखण्डे भजन हुने

सियारी, रुपन्देही ।
सियारी गाउँपालिका वडा नं. ७ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको नवदुर्गा मन्दिर प्राङ्गणमा एक ऐतिहासिक धार्मिक कार्यको सुरुवात हुँदैछ। “१०८ शिवलिंग स्थापनासँगै १०८ पीपल वृक्षरोपण कार्यक्रम”को आयोजना गरिँदैछ, जसले धार्मिक, सांस्कृतिक र वातावरणीय चेतनाको अभूतपूर्व समायोजन प्रस्तुत गर्नेछ।
कार्यक्रम श्रावण महिनाको अवसर पारेर आयोजना गरिएको हो। शिवभक्तहरूको ठूलो उपस्थितिका साथ नवदुर्गा मन्दिरमा शिवलिंग दान गर्नेको घुइँचो लागेको छ। श्रद्धालुहरूले आ-आफ्नो नामबाट शिवलिंग दान गरी पुण्य कमाउने अवसर पाएका छन्।

कार्यक्रमको विशेष आकर्षणका रूपमा, श्रावण २९ गते साँझ ७ बजेबाट सुरु भई ३० गते बिहानसम्म अखण्ड भजन आयोजना गरिएको छ। शिव भजन, स्तुति तथा धार्मिक मन्त्रोच्चारणमार्फत सम्पूर्ण वातावरण भक्तिमय हुने अपेक्षा गरिएको छ। कार्यक्रमको संयोजन तथा समन्वय नव दुर्गा मन्दिर समिति सियारी- ७, हिरागंज रुपन्देहीले गरिरहेको छ।
समितिका अध्यक्ष रामप्रसाद घिमिरेका अनुसार, “यो कार्यक्रम केवल धार्मिक दृष्टिकोणबाट मात्र नभई वातावरणीय सन्देशसहितको जनचेतना अभियान पनि हो। पीपल वृक्ष हिन्दु धर्ममा अति पवित्र मानिने वृक्ष हो। यसको रोपणले वातावरण शुद्धीकरणका साथै धार्मिक पुण्यसमेत मिल्ने विश्वास गरिएको छ।”
कार्यक्रममा स्थानीय बासिन्दा, विभिन्न संघसंस्थाका प्रतिनिधि, धर्मगुरु तथा श्रद्धालुहरूको बाक्लो उपस्थिति रहेको छ। यस आयोजनाले हिन्दू धर्मको गौरवलाई अझ उजागर गर्नुका साथै सामाजिक एकता र सद्भाव अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।