दार्चुला घटनामा सरकार गम्भीर छ-गृहमन्त्री बालकृष्ण खाँण

साउन–१८, संवाददाता ।
गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा नेपाली युवा चढेको तुइन काटेको घटना सम्बन्धमा छानबिन गर्न गठित समितिको प्रतिवेदनका आधारमा सरकारले धारणा बनाउने बताउनुभएको छ । राष्ट्रिय सभाको सोमबारको बैठकमा दार्चुला घटना लगायत अन्य घटनाबारे जानकारी गराउँदै मन्त्री खाँणले दार्चुला घटनामा सरकार गम्भीर भएकै कारण छानविन समिति बनाइएको जानकारी दिनुभयो ।
गृहमन्त्री खाँणले समितिको अध्ययन प्रतिवेदनका आधारमा सरकारले आवश्यक अडान लिने पनि धारणा राख्नुभयो । समिति गठन भइसकेको अवस्थामा यस बिषयमा सरकारले अहिले नै धारणा तय गर्नु उचित नभएको उहाको भनाई छ । उहाले घटनाको प्रत्यक्षदर्शीसंग पनि कुराकानी भइरहेको धारणा राख्नुभयो । गृहमन्त्री खाँणले महाकाली नदिमा झोलुङ्गे पुल बन्ने काम सुरु भइसकेको जानकारी दिनुभयो ।
त्यस्तै उहाले मनसुन यता प्राकृतिक प्रकोपबाट बिभिन्न ५५ जिल्लामा ६७ जनाको मृत्यु र ४० जना बेपत्ता भएको जानकारी गराउनुभयो । बाढीका कारण क्षतीको मुल्याङ्कन गरि पुननिर्माणको काम सुरु गर्न निर्देशन दिइसकेको उहाले बताउनुभयो । उहाले प्राकृतिक बिपतसंग सामना गर्दै जनताको जिवनरक्षा गर्न सरकार प्रतिवद्ध रहेको धारणा राख्नुभयो ।
बैठकमा सांसदहरुले तुइन काटिएको घटना सम्बन्धमा भारत सरकारसँग छलफल गर्न सरकारले ढिलाई गरेको आरोप लगाएका थिए । एमालेका भैरव सुन्दर श्रेष्ठले एसएसबीले तुइनको लठ्ठा काटेको भनेर प्रत्यक्षदर्शीले बताउँदा भारतसँग कुरा गर्न किन तयार नभएको भनी प्रश्न गर्नुभयो । त्यस्तै सांसद कोमल ओलीले तुइन काटेर जयसिंह धामी नदीमा खसेको मानवीयताविरोधी र लज्जास्पद घटनामा सरकार समिति बनाएर मात्र बस्न नमिल्ने तर्क गर्नुभयो ।