केन्द्रीय कार्यसमिति बैठक : पूर्वघोषित महाधिवेशन कार्यतालिका परिमार्जनमा केन्द्रित

साउन -२९, हेल्लो नेपाल ।
नेपाली कांग्रेसले पूर्वघोषित महाधिवेशन कार्यतालिका परिमार्जन गर्न गृहकार्य थालेको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको नयाँ मिति तय गर्ने सम्बन्धमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकको दोश्रो दिन शुक्रबार महाधिवेशन कार्यतालिका परिमार्जनमा केन्द्रीत रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको निर्वाचन निर्देशिकामाथि छलफल भएको उहाले बताउनुभयो ।
महाधिवेशनका लागि ७ वटा तहको नेतृत्व चयनका लागि निर्वाचन निर्देशिका केहि परिमार्जन गर्न छलफल भइरहेको उहाको भनाई छ । बैठकमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी रहेको केहि दिन लम्विने प्रवक्ता शर्माले जानकारी दिनुभयो । कांग्रेसले केन्द्रीय सदस्यहरुको धारणापछि महाधिवेशनको नयाँ मिति तय गर्ने बताइएको छ । कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । यद्यपि क्रियाशील सदस्यता विवादका कारण महाधिवेशनअन्तर्गतका स्थानीय तह र जिल्ला अधिवेशन भने प्रभावित भइसकेका छन् ।
भिडियो हेर्नुहोस्-
बैठकमा सरकारलाई प्रभावकारी रुपमा अघि बढाउने बिषयमा पनि सदस्यहरुले सुझाव दिएको प्रवक्ता शर्माले बताउनुभयो बिहीबार सुरु भएको बैठकमा पहिलो दिन क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदनको व्याख्यासहित प्रस्तुत गर्नुभएको थियो । समायोजन समितिको प्रतिवेदन उपसभापति विमलेन्द्र निधिले पेश गर्नुभएको थियो ।