गृहमन्त्री खांड द्वारा बुटवलको तामनगर–फर्साटिकर सडकमा निर्मित ‘दानव नदि पुल’ उद्घाटन

चैत्र ५, हेल्लो नेपाल ।
गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य वालकृष्ण खाँणले अमेरिकी सहयोग परियोजना एमसिसि नेपालको हितमा भएको प्रष्ट पार्नुभएको छ ।
शनिवार बुटवल उपमहानगरपालिकामा पर्ने तामनगर–फर्साटिकर सडकमा रहेको दानव नदीमा निर्माण सम्पन्न पुलको उद्घाटन गर्दै खाँणले पार्टीका नेता कार्यकर्तालाई एमसिसिका बारेमा फैलिएको भ्रम चिर्न प्रचार प्रसार गर्न आग्रह गर्नुभएको हो । उहाँले एमसिसि नेपालको विद्युतको विकासमा कोशेढुंगा सावित हुने दाबी गर्नुभयो ।

गृहमन्त्री खाँणले तोकिएकै मितिमा चुनाव हुने बताउँदै चुनावको प्रचारमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । खाँणले पुल उद्घाटन गर्दै उहाँले अव त्यस क्षेत्रका हजारौं नागरिकलाई लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । गृहमन्त्री खाँणले बुटवलको मोतिपुर औद्योगिक क्षेत्र पूर्ववर्ती सरकारले बढाएको जसरी हुवहु कार्यान्वयन नहुने बताउदै उहाँले वर्षौदेखि बसेकालाई व्यवस्थित गरेर मात्रै औद्योगिक क्षेत्र निर्माणको कामलाई थालनी गर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशका पर्यटन ग्रामिण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले कोरोना महामारीका बिच पनि सरकारले विकास निर्माणका काम नरोकेको बताउनुभयो ।

त्यस्तै गरी बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले राजनीतिक आस्था अलग अलग भए पनि विकास निर्माणका काम र सम्बृद्धिका लागि सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । ०७४ असार ३० मा अर्घाखाँची बाबुल जेभिले ठेक्का पाएको पुल १३ करोड ,९४ लाख , ५१ हजार लागतमा पुल निर्माणको काम २०७७ माघ १३ मा सम्पन्न भएको सडक डिभिजन कार्यालयका प्रमुख ईन्जिनियर जयलाल मरासिनीले बताउनुभयो ।