शुक्रबार, १२ बैशाख २०८२ २०:२३

भुजौली इङ्गलिस स्कूलमा वार्षिक खेल सप्ताह शुरु

शुक्रबार, १८ माघ २०८१ १४:०२

माघ १

रुपन्देही शुद्धोधन-२ भुजौली इङ्गलिस स्कूलले वार्षिक खेल सप्ताह शुक्रबार देखि शुरु गरेको छ।

माघ १८ गतेबाट २१ गतेसम्म चल्ने खेल सप्ताहको दौरान, विद्यार्थीहरूले विभिन्न खेलकुद प्रतिस्पर्धामा भाग लिएका छन्। विद्यालयमा प्रत्येक वर्ष झै यस वर्ष पनि खेल सप्ताह उत्साह र उमंगका साथ संचालन भइरहेको छ। आज पहिलो दिन भलिबल, सटपुट, ब्याडमिन्टन, मिठाई दौड, बुद्दिचाल लगायतका खेलहरु संचालन भएका थिए । माघ २१ अर्थात् सरस्वति पुजा (श्रीपंचमी) को अवसरमा साना नानीबाबुहरुका लागि अक्षरारम्भ र नयाँ भर्नाको कार्यक्रम समेत रहेको हुँदा उक्त दिन खेल सप्ताहको समेत समापन हुने विद्यालयका प्रिन्सिपल झलक थापाले जानकारी दिनुभयो ।

“हाम्रो विद्यालयमा खेलकुद र शैक्षिक गतिविधिहरूको समुचित सन्तुलन महत्त्वपूर्ण छ। यसैको अंशस्वरूप, हामी प्रत्येक वर्ष खेल सप्ताह आयोजना गर्दै आएका छौँ। यसले विद्यार्थीहरूको शारीरिक र मानसिक विकासमा मद्दत पुर्याउँछ। साथै, अक्षरारम्भ र नयाँ भर्ना प्रक्रियाले विद्यार्थीहरूको शैक्षिक यात्रामा नयाँ शुरुवात गर्ने अवसर प्रदान गरेको छ,” प्रिन्सिपल थापाले बताउनुभयो।

विद्यार्थीहरूको शैक्षिक, शारीरिक र मानसिक विकासमा विशेष ध्यान दिन्छौं। हाम्रो उद्देश्य ग्रामीण भेगका बालबालिकालाई शिक्षा प्राप्ति र भविष्यको दिशा प्रष्ट पार्ने अवसर उपलब्ध गराउनु हो। यस किसिमका कार्यक्रम विद्यालयका विद्यार्थीहरूको उत्साह र लगनशीलता देखाउने महत्वपूर्ण अवसर बन्न पुगेको कुरा समेत थापाले थप्नुभयो।

वि.सं. २०५० सालमा स्थापना भएको भुजौली इङ्गलिस स्कूलले ग्रामीण भेगमा शैक्षिक सुधार र प्रगति ल्याउने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। विद्यालयले अत्याधुनिक शिक्षण प्रणाली र गुणस्तरीय शिक्षा प्रदान गर्दै ग्रामीण क्षेत्रका बालबालिकालाई विश्वस्तरीय शिक्षा प्राप्त गर्न अवसर दिएको छ। विद्यालयले शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले उच्च योग्यतासम्पन्न शिक्षकहरुको टीम गठन गरेको छ। साथै, विद्यार्थीहरूको समग्र विकासका लागि खेलकुद, सांस्कृतिक कार्यक्रम र अतिरिक्त क्रियाकलापहरूको पनि आयोजना गर्दै आएको छ।

विद्यालयले त्यस क्षेत्रका बालबालिकालाई आधुनिक प्रविधि र शैक्षिक सामग्रीहरूसँग परिचित गराउँदै आएको छ, जसले उनीहरूको शैक्षिक यात्रा सहज र प्रभावकारी बनाएको छ।