सोमबार, २४ चैत्र २०८१ १८:३१

शुद्दोदन गाउँपालिकामा मन्दिरबाट घण्टी चोरी: सीसीटीभी फुटेज सार्वजनिक

आईतवार, ११ फाल्गुन २०८१ ११:४५

May be an image of 1 person, skateboard and trampoline

शुद्दोदन, फाल्गुन ११

रुपन्देही शुद्दोदन गाउँपालिका वडा नम्बर ५ स्थित मानपकडीमा रहेको भुवनेश्वरी कोटही माई मन्दिरबाट चोरीको घटना घटेको छ। गत शुक्रबार दिउँसो ठिक ३:४७ बजे देखि ३:५७ बजेको बीचमा दुई जना अज्ञात व्यक्तिहरूले मन्दिरबाट ८ थान घण्टी चोरी गरेको स्पष्ट रूपमा सीसीटीभी फुटेजमा देखिएको छ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर थापाका अनुसार, चोरीको घटनाले सम्पूर्ण गाउँपालिका र मन्दिर क्षेत्रमा त्रासको वातावरण सिर्जना गरेको छ। समितिले यो आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान र पक्राउका लागि सबै नागरिकलाई सहयोग गर्न आग्रह गरेको छ। जो कोही महानुभावले ती व्यक्तिहरूलाई देख्नु भएको वा चिन्नु भएको खण्डमा नजिकको प्रहरी चौकीमा खबर गर्न वा ९८६७५१२८७७ र ९८०५१४०८७० नम्बरमा तुरुन्तै सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ। जानकारी दिने व्यक्तिको पहिचान गोप्य राखिनेछ र सुराकीलाई उचित नगद पुरस्कार प्रदान गरिने समितिले जानकारी दिएको छ।

May be an image of 2 people and trampoline

यस चोरीको घटनाले धार्मिक स्थलको सुरक्षामा प्रश्न उठाएको छ। स्थानीय प्रशासन र प्रहरी चौकीले घटनाबारे छानबिन शुरु गरेको जनाएको छ। प्रहरीका अनुसार, दोषीलाई कानुनी दायरामा ल्याउन अनुसन्धान तीव्र बनाइएको छ।

स्थानीय बासिन्दाहरूले यस घटनाको निन्दा गर्दै मन्दिरको सुरक्षामा थप कडाइ गर्न माग गरेका छन्। यसैबीच, मन्दिर व्यवस्थापन समितिले आगामी दिनमा मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था बलियो बनाउन योजना बनाएको छ।