सियारीको दुर्गा देवी मा.वि. मा अक्षय कोष स्थापना- लक्षित विद्यार्थीमा लगानी गरिने

सियारी, चैत्र २
सियारी गाउँपालिका वडा नं ६, करंगे टोल निवासी शिक्षा प्रेमी व्यक्तित्व प्रकाश रेग्मीले स्व. पिता भक्ति विलाश शर्माको वार्षिक पुण्य तिथि (श्राद्द) को अवसरमा सियारी- ६, बर्दहवा स्थित श्री दुर्गा देवी मा.वि.मा अक्षय कोष स्थापना गरेका छन् ।
आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका विद्यार्थीको पढाइलाई सहयोग पुर्याउने उद्देश्य साथ रेग्मीले १ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन् । रेग्मी परिवारबाट स्वर्गीय भक्तिलाल शर्माका धर्मपत्नी चोला कुमारी शर्मा मार्फत १ लाख रुपैयाँ रकम बराबरको चेक विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज गुरुङ र विधालय प्र.अ. थमन बहादुर रानाभाट लाई संयुक्त रुपमा हस्तान्तरण गरे ।



उक्त अवसरमा रेग्मीले कोषको रकम लक्षित विद्यार्थीको पठनपाठनमा सहयोगी बन्ने विश्वास व्यक्त गरे । श्री दुर्गा देवी मा.वि. का पूर्व शिक्षक समेत रहेका रेग्मीले भने , ‘कोषको सही सदुपयोग हुनेमा विश्वस्त छौं, आर्थिक अभावमा कुनै पनि बालबालिका पढ्नबाट बन्चित हुनु नपरोस् भन्ने चाहनाले कोष स्थापना गरेका हौ ।’
यस्तै वि.व्या.स. अध्यक्ष खेमराज गुरुङले अक्षयकोष दाता परिवारलाई विशेष धन्यबाद व्यक्त गर्दै कोषको रकम सदुपयोग गर्दै लक्षित विद्यार्थीमा पुर्याउने प्रतिबद्धता जनाए ।
कार्यक्रम वि.व्या.स. का पदाधिकारीहरु तथा शिक्षक अभिभावक संघ एवम् शिक्षक प्रनितिधिको उपस्थितिमा विधालयका शिक्षक कृष्ण गोपाल कंडेलको संचालनमा सम्पन्न भएको हो ।