मंगलवार, १७ असार २०८२ ०६:२३

लायन्स क्लब अफ शुद्धोधनको पदस्थापन सम्पन्न, सुनिल क्षेत्रीले सम्हाले नेतृत्व

आईतवार, १५ असार २०८२ १३:५८

रुपन्देही, सियारी — लायन्स क्लब अफ शुद्धोधनको नेतृत्व हस्तान्तरण कार्यक्रम शनिबार भव्य रूपमा सम्पन्न भएको छ। रुपन्देहीको सियारी गाउँपालिका–६ स्थित झरना रिसोर्टमा आयोजित विशेष समारोहमा संस्थापक अध्यक्ष ऋषिराम आलेले वर्ष २०२५/०२६ का लागि नयाँ अध्यक्ष सुनिल क्षेत्रीलाई पद हस्तान्तरण गरेका हुन्।

कार्यक्रमको उद्घाटन लायन्स क्लब इन्टरनेशनल ३२५ का डिष्ट्रिक्ट गभर्नर एमजीएफ पुरुषोत्तमभक्त प्रधानाङ्गले गरेका थिए। उद्घाटन मन्तव्यमा उनले लायन्स क्लबले सामाजिक क्षेत्रमै अनुकरणीय कार्य गर्दै आएको बताउँदै क्लबको सामाजिक छवि अझै उजागर गर्न आग्रह गरे। उनले सामाजिक रूपान्तरणका लागि निरन्तर सेवामुलक कामलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।

कार्यक्रममा शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले क्लबको सामाजिक कार्यप्रति प्रशंसा व्यक्त गर्दै पालिकाबाट आवश्यक समन्वय र सहयोगका लागि प्रतिबद्धता जनाए। उनले लायन्स क्लबको भूमिका पछिल्लो समय अत्यन्त सकारात्मक र प्रेरणादायी बनेको उल्लेख गरे।

त्यसैगरी, निवर्तमान डिष्ट्रीक गर्भनर अर्जुनमान सैजुले संस्थापक अध्यक्ष ऋषिराम आलेको नेतृत्वलाई एक सफल र अनुकरणीय नेतृत्वको संज्ञा दिंदै अन्य क्लबहरूलाई समेत अनुशासन, समन्वय र सादगीको मूल्य सिक्न सुझाव दिए।

कार्यक्रममा अध्यक्ष पद हस्तान्तरण गर्दै संस्थापक अध्यक्ष ऋषिराम आलेले आफ्नो कार्यकालमा वृक्षारोपण, रक्तदान, व्यक्तित्व विकास, जनचेतनामूलक अभियान, अभिमुखीकरण लगायतका सामाजिक कार्यक्रमहरू प्रभावकारी रूपमा सम्पन्न गरेको स्मरण गरे। उनले भावी नेतृत्वलाई समेत सहकार्य र सल्लाहमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा शुद्धोधन गाउँपालिका–४ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता केशवप्रसाद अधिकारी, एक्टेक्षन चियर पर्सन सुमित्रा न्यौपाने, ज्ञानप्रसाद पौडेल, नेकपा एमाले शुद्धोधन अध्यक्ष राजेन्द्र कडेल, रास्वपा शुद्धोधन सभापति बौद्धलाल शर्मा, यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस सञ्चालक समिति सदस्य कृष्ण नेपाल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

यस अवसरमा विशेष सम्मान कार्यक्रमसमेत आयोजित गरिएको थियो। लुम्बिनी बौद्ध विश्वविद्यालयका सहायक प्रमुख मोहनलाल भण्डारीलाई “लायन्स शिक्षा साधक अवार्ड”, युवा कृषक रमेश गौतमलाई “युवा कृषि अवार्ड” र बिबिएस दोस्रो वर्षको परीक्षामा लुम्बिनी प्रदेश प्रथम हुने शुद्धोधनकी आकृती उपाध्यायलाई विशेष सम्मान प्रदान गरिएको थियो।

कार्यक्रमको सञ्चालन निवर्तमान सचिव खेम कुँवर र वर्तमान सचिव सरिता न्यौपानेले संयुक्त रूपमा गरेका थिए।

Gagal mengambil konten.