शनिबार, ६ बैशाख २०८२ १८:४४

सत्ता गठबन्धनको भातृ संगठनद्वारा लुम्बिनी बाणिज्य क्याम्पसमा तोडफोड

मंगलवार, २६ श्रावण २०७८ १३:३५

साउन-२६, हेल्लो नेपाल ।

सत्ता गठबन्धनको भातृ संगठनले लुम्बिनी बाणिज्य क्याम्पस बुटवलमा तोडफोड गरे । उनीहरुले गरेको तोडफोडबाट लेखाशाखा,परीक्षा शाखाका कम्प्युटर,कुर्ची क्षतिग्रस्त भयो । तोडफोडबाट महत्वपुर्ण कागजपत्रहरु कार्यालय भरी छरपस्ट भयो । साउनको ८ गते देखि नै लुम्विनी वाणिज्य क्याम्पसमा सत्ता गठवन्धनका भातृ संगठनहरु नेपाल विद्यार्थी संघ,अखिल क्रान्तीकारी,अखिल छैठौले संयुक्त रुपमा क्याम्पस प्रमुखको कार्यकक्षमा तालावन्दी गरेका थिए । साउन १० गते देखि क्याम्पसको लेखा,प्रशासन शाखामा समेत तालावन्दी गरेका उनीहरुले तोडफोडमै उत्रिएर ताण्डव देखाएको क्याम्पस प्रशासनले जनाएको छ । लुम्विनी वाणिज्य क्याम्पसले स्वायत्तताका आधारमा शैक्षिक कार्यक्रम सञ्चालन गरी क्याम्पसलाई मानित विश्व विद्यालयको रुपमा विकास गर्ने योजना अघि सारेको छ ।

स्वायत्त कार्यक्रमको त्रिवि सभा र प्राज्ञिक परिषद्बाट अनुमोदन भएपछि मात्र लागु हुन्छ । स्वायत्त भए पनि यी कार्यक्रमहरु त्रिविकै कार्यक्रम हुन् । यही विषयलाई अतिरन्जित गरेर तोडफोडमै उत्रिने कार्य ठिक नभएको क्याम्पस प्रशासनले जनाएको छ । विद्यार्थी संगठनका नाममा भएका यस्ता गतिविधिले शैक्षिक विकासमा अवरोध हुने समेत क्याम्पस प्रमुख तारा प्रसाद उपाध्यायले बताए । स्वायत्त शैक्षिक कार्यक्रमका बारेमा सम्पूर्ण राजनीतिक दल,विद्यार्थी संघसंगठन तथा सरोकारवाला निकायलाई जानकारी गराएर क्याम्पसमा उक्त कार्यक्रम लागु गरिएको बताउदै विद्यार्थीहरुले गरेको तोडफोड कार्य आपत्तिजनक रहेको लुम्बिनी वाणिज्य क्याम्पसले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

क्याम्पस संचालक समितिका अध्यक्ष मोतिलाल पाण्डेले समुदायमा आधारित जनस्तरबाट सञ्चालन भएको सामुदायिक क्याम्पसमा सवैको साथ र सहयोग रहनु पर्नेमा राजनीतिक पुर्वाग्रह राखेर आक्रमण गरिनु दुखद विषय भएको बताए । तोडफोडबाट झण्डै १० लाखको क्षति भएको र कानुनी कारवाहीको लागि सुरक्षा निकायमा जाने बताउँदै अध्यक्ष पाण्डेले त्यसका लागि सहयोग गर्न सवैसँग आग्रह गर्नु भयो ।