लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा

साउन–२७, हेल्लो नेपाल । लुम्बिनी प्रदेशaका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिनुभएको छ ।
प्रदेशसभाको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव पेस हुनुअघि नै पोखरेलले प्रदेशप्रमुख अमिक शेरचनलाई राजीनामापत्र बुझाउनुभएको थियो । पदबाट राजीनामा दिएपछि पोखरेलले नयाँ सरकारलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । मुख्यमन्त्री कार्याaलयमा पत्रकार सम्मेलन गर्दै पोखरेलले नयाँ नेतृत्वलाई सहयोग गर्न मुख्यमन्त्री कार्यालयका कर्मचारीलाई आग्रह पनि गर्नुभयो ।
पोखरेलले आफ्नो कार्यकालमा सरकारले सडक पूर्वाधार, खानेपानी, शैक्षिक क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको बताउनुभयो । आफुले गरेका कामलाई प्रदेश सरकारका संरचनाले निरन्तरता दिएमा प्रदेश अगाडी बढ्ने उहाको दावी थियो ।
पोखरेलले प्रदेशले स्थायी राजधानी तोकेर भौतिक पूर्वाधार निर्माणको लागि गुरुयोजना निर्माण भइरहेको बताउँदै यसलाई सरकारको ठूलो सफलताका रुपमा लिनुपर्ने धारणा राख्नुभयो ।
संविधानको धारा १६८ को १ बमोजिम एमालेको एकल बहुमतका आधारमा मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिनुभएको हो । यसअघि सरकार अल्मतमा रहेको भन्दै विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध साउन १९ गते अविश्वास प्रस्ताव दर्ता गराएको थियो । विपक्षी दलका ३४ प्रदेशसभा सदस्यको समावेदनअनुसार प्रदेशप्रमुख शेरचनले बुधबार आह्वान पनि गर्नुभएको थियो ।