आठ दशक पार गरेको बूढो शरीर र वाढीको चपेटाले दिएको सास्ती
भदौ २०,हेल्लो नेपाल ।
यम राना
रुपन्देहीको ओमसतिया–५,पिपरहिया भाटाका ८१ वर्षिय तेजबहादुर सारु भदौ १० गते वेलुका देखि निरन्तर परेको पानीले केही अनिष्ट गर्छ की भनेर चिन्तीत भई रहेका थिए । पानी रोकिनुको साटो एकोहोरो दर्कि रहेको थियो । जीवनको ८ दशक पार गरेका सारुलाई त्यस दिन केही न केही अनिष्ट हुन्छ भन्ने लागेको थियो ।
समय वित्दै गयो । पानी पर्न छोड्दै छोडेन । उनी रात भरी निदाउन सकेनन् । उनले छिमेकमा अरुलाई पनि खवर गरेर सुरक्षीत हुन आग्रह गरे । घडीमा रातीको २ वज्दै थियो । रोहिणी खोलामा बग्दै गरेको पानीको सहत वढेर उनीहरुको वस्ती भित्र पस्यो ।
कोही निदाई रहेका थिए । कोही चिन्तीत भई जागै वसेका थिए । वस्ती भित्र पसेको पानी घर भित्र पनि पस्यो । ईट्टा र व्लकले बनेका घरहरु पानीको सतहले भरीयो, फुसको छानो र माटोका घरहरु पानीको प्रवाहसँगै वग्न पुग्यो ।
घरमा पालेको कुखुरा,वाख्रा, वंगुर पनि बाढीसँगै वग्यो । वालवच्चा तथा महिलाहरु रुन कराउन थाले । एक प्रकारको कोलाहल नै मच्चियो । घरमा भएको खाद्धन्न,लत्ता कपडाको कुनै नाम निसान रहेन । सवैले आफ्नो ज्यान जसोतसो जोगाए । वयोवृद्ध सारुले पनि आफ्नो ७६ वर्षिय पत्नीलाई हातमा समातेर ढिकमा उक्लीए । उनीहरुको ज्यान त जोगियो । तर नत उनीहरुले दुखले बनाएको घर नै रहयो । नत लत्ताकपडा र भाडाकुडा नै ।
विहानसम्म लगातार पानी परिरहयो । जति उज्यालो हुदै गयो त्यति नै पानीको सतह वढदै गयो । वर्षा रोकिए पनि माथिल्लो भेग तिर जम्मा भएको पानी रोहिणी नदीमा वगेर आएका कारण पानीको सतह बढेको थियो । सारु भन्छन्,विहानसम्म पानी परिरह्यो । हामी खुल्ला आकाशमा भिजी रह्यौं । हाम्रो सानो वुकुरो घर बाढीसँगै वगेर कहाँ पुग्यो थाहै भएन ।
पहाडका विभिन्न ठाउँबाट आएका मानिसहरु २०५६ साल दखि पिपरहिया भाटामा वसोवास गर्दै आएका थिए । गरीवी र अभावले पिल्सीएका तथा आफ्नो श्री सम्पत्ती केही नभएकाहरुले रोहिणी नदी किनारमा रहेको खाली भु–भागमा घर–टहरो बनाएर वसोवास गरेका थिए ।
सोही स्थानका अर्का बाढी पिडित हेमबहादुर आले भन्छन् , रहरले त यहाँ किन वसिन्थ्यो र ? वाध्यताले गर्दा नै आफ्नो थातथलो छोडेर यहाँ आएका हौं । यहाँ पनि दुःखले छाडेन ।
पाल्पा, अर्घाखाची,स्याङ्जा र पुर्वका केही जिल्लाका मानिसहरु यहाँ वसोवास गर्दछन् । तराईको ठाउँ भए पनि भौगोलिक हिसावले विकट रहेको पिपरहिया भाटामा वसोवास गर्नेहरुको जिवीकाको मूख्य श्रोत ज्याला–मजदुरी हो ।
लामो समय देखि वसोवास गरे पछि गाउँपालिकाले यस ठाउँमा विद्युतिकरण समेत गरि दिएको छ । चारै तिर तराई समुदायको वासोवास रहेको यस ठाउँमा २४ घर पहाडी समुदायका घरपरिवार वस्दै आएका छन् ।
अन्य समयमा पनि बाटोको समस्या रहेको पिपरहिया भाटामा वर्षातको समयमा पैदल हिड्न समेत गाह्रो हुने स्थानीय वलराम आले बताउँछन् । आले भन्छन् , अर्काले लगाएको धान खेतको आलीबाट हिडेर यस गाउँमा आउनु पर्दछ । यहाँ मानिस विरामी पर्दा एम्वुलेन्स समेत आउन सक्दैन ।
भदौ १० गते राती गएको बाढीका कारण विद्युतका ३ वटा पोल बगाएको छ । विद्युत आपुर्ति वन्द भएका कारण उनीहरुको सञ्चार सम्वन्ध समेत विच्छेद भएको छ । घरवास वगाए पछि अर्कैको खेतमा त्रिपाल टाँगेर वस्नु पर्दा ठुलो कष्ट भईरहेको टुकबहादुर ठाडाले बताए । ठाडा भन्छन् ,हामी पाका मानिसहरु त जसोतसो गुजारा गरि रहेका छौं । वालवच्चा र जेष्ठ सदस्यहरुलाई भने गाह्रो भएको छ ।
वर्षातको समय खेतको डिलमा त्रिपाल हालेर वस्नु पर्दा रात पनि महिना जस्तो भएको वाढी प्रभावितहरु बताउँछन् । उनीहरुलाई एकातिर सर्प जस्ता विषालु किराको डर छ भने अर्को तर्फ दुई छाक कसरी जोहो गर्ने भन्ने पिरलो छ ।