बुधबार, ३ कार्तिक २०७८ १८:३८

सत्ता गठबन्धनले लोकतन्त्रलाई समाप्त पार्न खोज्यो-ओली

बुधबार, २३ भाद्र २०७८ ०९:३३

भदौ–२३, हेल्लो नेपाल ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्ता गठबन्धनले लोकतन्त्रलाई समाप्त पार्न खोजेको आरोप लगाउनुभएको छ । संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सत्ता गठबन्धन र सरकारले लोकतन्त्रको हुर्मत लिन र समाप्त पार्न खोजेको आरोप लगाउनुभएको हो ।

कथित गठबन्धनमा रहेका दलले लोकतन्त्र मास्न लागेको भन्दै उहाले गठबन्धनबाट लोकतन्त्रको रक्षा हुन नसक्ने स्पष्ट पार्नुभयो । त्यस्तै अध्यक्ष ओलीले सरकार लोकतान्त्रिक विधि, पद्धति र प्रक्रियाबाट नभई परमादेशबाट बनेकाले जनताप्रति उत्तरदायी नहुने धारणा राख्नुभयो ।

उहाले रातारात छापामार शैलीमा संसद अधिवेशन बन्द गरेर अध्यादेश ल्याएको भन्दै लोकतन्त्रको उपहास भएको उल्लेख गर्नुभयो । राजनीतिक दलले अर्को दल फुटाउन अध्यादेश ल्याएर गरेको षडयन्त्र कल्पना बाहिरकै घटना भएको उहाको भनाई छ । ओलीले एमसीसी अहिले छलफलका रूपमा आएको र संसदमा आएपछि धारणा बनाउने बताउनुभयो ।

एमसीसी सम्झौता आफूहरूले नगरेको र काँधमा हाल्न जरुरी पनि नरहेको उहाको भनाई छ । त्यस्तै ओलीले सभामुखको भूमिका एमाले बिरुद्धको षडयन्त्रको मतियारको रुपमा रहेको आरोप लगाउनुभयो ।

त्यस्तै अध्यक्ष ओलीले एमालेले कारवाही गरेका र हाल नेकपा (एकीकृत समाजवादी)मा रहेका १४ जना सांसद नै नभएको दावी गर्नुभयो । ओलीले नेपाल सहित १४ जना सांसद बुधवारको बैठकमा उपस्थित भए संसद बैठक चल्नै नसक्ने उल्लेख गर्नुभयो ।