अदालतले गरेको निर्णयले स्वेच्छाचारिता र निरंकुशतन्त्रको अन्त्य-नेकपा (माओवादी केन्द्र)

असार–२९ । नेकपा (माओवादी केन्द्र)ले सर्वोच्च अदालतको फैसलाले संविधान र लोकतन्त्रको रक्षा, स्वेच्छाचारिता र निरंकुशतन्त्रको अन्त्य भएको निष्कर्ष निकालेको छ । पेरिसडाँडामा मंगलबार बसेको माओवादी स्थायी समिति बैठकले अदालतले गरेको निर्णयले स्वेच्छाचारिता र निरंकुशतन्त्रको अन्त्य भएको र संविधान र लोकतन्त्रको रक्षा भएको निष्कर्ष निकालेको हो ।
त्यस्तै बैठकले कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेको छ । बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउवासँग सरकार सञ्चालनका निम्ति आवश्यक विविध विषयमा प्रारम्भिक छलफल गर्ने र सरकारको स्वरुपका बारेमा ठोस छलफल गरेर आजको मन्त्रिपरिषद् गठनको पहल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
एक सय ४६ सांसदले दायर गरेको मुद्दाको फैसला गर्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना र नेपालको संविधानको धारा ७६ (५) अनुसार नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सोमबार परमादेश दिएको थियो ।
यसैगरी बैठकले पार्टी केन्द्रीय सदस्य महादेव यादवको निधनप्रति शोक व्यक्त गरेको छ । त्यस्तै पार्टी स्थायी समिति सदस्य पम्फा भुसालकी स्व.माताप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।