अब अनलाईनबाटै सवारी साधनको कर तिर्न सकिने

साउन–८ । सवारी साधनको अनलाइन कर भुक्तानीका लागि बागमती प्रदेशमा ‘यातायात व्यवस्था सुचना प्रणाली’ को शुभारम्भ गरिएको छ । शुक्रबार मकवानपुरको हेटौडामा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यातायात व्यवस्था सुचना प्रणालीको शुभारम्भ गर्नुभएको हो । प्रणालीको शुभारम्भ भएसंगै बागमती प्रदेशका यातायात सम्बद्ध कर तथा राजस्व घरमै बसेर अनलाइनबाट भुक्तानी गर्न सकिने बताइएको छ ।
सवारी चालक अनुमति शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाट घरमै बसेर पनि भुक्तानी गर्न सकिने प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै सेवाग्राहीले अब सवारीसाधनको राजश्व विवरण घरमै बसेर हेर्न र अनलाइनमार्फत दाखिला गर्न सक्नेछन् । कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री पौडेलले प्रदेशमा सुशासनको युग सुरु भएको बताउनुभयो । उहाले अव बिधुतिय बस सञ्चालन गर्नका लागि टेन्डरको आह्वान भइसकेको भइसकेको जानकारी दिनुभयो । भीमफेदीदेखि कुलेखानीसम्मको सुरुङमार्गका लागि पनि टेन्डरको प्रक्रियामा जाने उहाले बताउनुभयो ।
बागमती प्रदेशमा रहेका १० वटा यातायात सेवा व्यवस्था कार्यालयहरुमध्ये हाल ६ वटा कार्यालयबाट यो सेवाको सुरुवात गरिएको जनाइएको छ । बागमती प्रदेशमा हालसम्म १६ लाख ४७ हजारभन्दा धेरै सवारी दर्ता भइसकेको बागमती भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव संजिव बरालले जानकारी दिनुभयो ।