शनिबार, ६ बैशाख २०८२ ०९:५९

नेपाली कांग्रेसको क्रियाशील सदस्यताको संख्या ८ लाख ५२ हजार ७११ जना

मंगलवार, १२ श्रावण २०७८ १४:३२

साउन–१२ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको जनाएको छ । प्रधानमन्त्रीको निजि निवास बालुवाटारमा मंगलबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानविन समितिले क्रियाशील सदस्यता प्रतिवेदन बुझाउदै देशभरबाट आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशिल सदस्यता प्रदान गरेको जनाएको हो ।

क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउनुभएको थियो । प्रतिवेदनमा चार लाख ४३ हजार ६७८ नयाँ र चार लाख नौ हजार ३३ ले नवीकरण गरेका हुन् ।

क्रियाशील सदस्यता छानबिन समितिमा ४६ खाले उजूरी तथा गुनासो प्राप्त भएको थियो । नवीकरणतर्फ ७७ वटै जिल्लाको क्रियाशील सदस्यता टुङ्गो लगाएको समितिले नयाँ क्रियाशील सदस्यता नामावलीलाई आगामी १४औँ महाधिवेशनका लागि स्थगन गरी उक्त महाधिवेशनपछि प्रक्रिया पु¥याएर कायम गर्ने समिति संयोजक लेखकले बताउनुभयो ।

कांग्रेसले पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा प्रदीप पौडेल, आनन्द ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेको छानबिन समिति गठन गरेको थियो । प्रतिवेदनप्रति कल्याणकुमार गुरुङले भने फरक मत राख्नुभएको छ । उहाले समितिले निर्णय गर्दा लिखित आधारमा गर्नुपर्ने बताउदै विभिन्न मापदण्डहरु समितिले मिचेको आरोप लगाउनुभयो । उहाले क्रियाशिल सदस्यताका बिषयमा आएका उजुरीलाई समितिले सामान्य ढंगले समितिले लिएको बताउनुभयो ।

क्रियाशील सदस्यता नामावली टुङ्गिएसँगै अब पार्टीको १४औँ महाधिवेशनको प्रक्रियासमेत शुरु हुने भएको कांग्रेसले जनाएको छ । क्रियाशील सदस्यता छानबिन समितिले दिएको प्रतिवेदन अध्ययन गरी अधिवेशनको नयाँ कार्यतालिका टुंगो लगाउने कांग्रेसले जनाएको छ ।