शनिबार, ६ बैशाख २०८२ ००:०८

पर्यटन क्षेत्रको पूर्वाधार विकास र नयाँ गन्तव्यको पहिचानका लागि सरकार सहुलियत दिने

सोमबार, ११ आश्विन २०७८ १७:३१

असोज–११, हेल्लो नेपाल ।
४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाएका हुन् ।

‘सबैका लागि पर्यटन पहुँच योग्य विश्वव्यापी पर्यटनको प्रवद्र्धन’ नारा सहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ । दिवसका अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल पर्वतारोहण सङ्घकोे नागपोखरी स्थित आफ्नो नवनिर्मित भवनको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा देउवाले सरकारले आर्थिक वृद्धि र विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम कार्यान्वयन तय गरेको बताउनुभयो । उहाले पर्यटन क्षेत्रको पूर्वाधार विकास र नयाँ गन्तव्यको पहिचानका लागि सरकार सहुलियत दिन, सहजीकरण र सहकार्य गर्न तयार रहेको पनि बताउनुभयो ।

त्यस्तै उहाले पर्यटन व्यवसायीहरुलाई सम्मान गर्नुभएको थियो । कोभिड महामारीले पछिल्ला दुई वर्षमा उल्लेख्य सङ्ख्यामा पर्यटक आउन सकेनन् । पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२१ का आठ महिनामा ६६ हजारभन्दा बढी पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष सन् २०२० मा पर्यटक आगमन संख्या दुई लाख ३० हजार ८५ मात्र छ ।

सन् २०१९ मा ११ लाख ९७ हजार १९१ बाह्य पर्यटक नेपाल घुम्न आएका थिए ।