शनिबार, १४ असार २०८२ १९:३७

एसईइमा ४ जिपिए सहित सिद्धार्थ मोर्डन स्कुलको शतप्रतिशत नतिजा

शनिबार, १४ असार २०८२ ०९:१८

फर्साटिकर, शुद्धोधन–४, रूपन्देही ।

शुद्धोधन गाउँपालिका–४ फर्साटिकरमा अवस्थित सिद्धार्थ मोर्डन स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत सफलता हासिल गर्दै गर्वको अनुभूति गराएको छ। विद्यालयका २४ जना परीक्षार्थीमध्ये सबै जना विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्।

विद्यालयका छात्र अभिषेक खनालले पूर्ण ४.० जिपिए ल्याएर विद्यालयको शिर उच्च बनाएका छन्। साथै अन्य विद्यार्थीहरूमा पनि प्रशंसनीय सफलता देखिएको छ। ६ जना विद्यार्थीले ३.९ देखि ४.० जिपिए, अर्को ६ जनाले ३.६ देखि ३.९ जिपिए, ८ जनाले ३.२ देखि ३.६ जिपिए, २ जनाले २.८ देखि ३.२ जिपिए र १ जनाले २.४ देखि २.८ जिपिए ल्याएका छन्।

विद्यालयका प्रधानाध्यापक डिल्लीराम पौडेलले शतप्रतिशत सफलताको खबर दिंदै विद्यालयको शैक्षिक गुणस्तर दिनप्रतिदिन सुधार हुदै गएकोमा हर्ष व्यक्त गर्नुभयो। “विद्यार्थीहरूको अथक परिश्रम, शिक्षक–शिक्षिकाको समर्पण, अभिभावकहरूको सहयोग तथा विद्यालय परिवारको समन्वयले नै यो सफलता सम्भव भएको हो,” उहाँले भन्नुभयो। साथै उहाँले सफल विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउने अठोट व्यक्त गर्नुभयो।

विद्यालयले विद्यार्थीहरूको सैद्धान्तिक अध्ययनसँगै अनुशासन, व्यवहारिक ज्ञान र नैतिक शिक्षामा पनि विशेष जोड दिँदै आएको छ। यही निरन्तरता र प्रयासकै कारण विद्यालयले लगातार राम्रो नतिजा दिँदै आएको विद्यालय प्रशासनले जनाएको छ।

स्थानीय तहका प्रतिनिधि, अभिभावक तथा शुभेच्छुकहरूबाट विद्यालयको सफलताप्रति बधाई तथा प्रोत्साहन पाइरहेका छन्। विद्यालय प्रशासनले आगामी दिनमा पनि विद्यार्थीको सर्वाङ्गिण विकासमा केन्द्रित भई गुणस्तरीय शिक्षाको नमूना प्रस्तुत गर्ने लक्ष्य राखेको जनाएको छ।

Gagal mengambil konten.