सियारी गाउँपालिकामा ९६.६७% किशोरीलाई एचपीभी खोप प्रदान (तथ्यांक सहित)

माघ २७
नेपाल सरकारले माघ २२ गतेदेखि २७ गतेसम्म १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोप प्रदान गर्ने अभियान सञ्चालन गर्यो। सोही अभियान अन्तर्गत सियारी गाउँपालिकामा रहेका २,२५० जना लक्षित किशोरीहरूमध्ये २,१७५ जनाले खोप प्राप्त गरेका छन्, जसअनुसार खोप कभरेज ९६.६७% पुगेको छ।
स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तीका अनुसार, खोप अभियानलाई प्रभावकारी बनाउन गाउँपालिकाका स्वास्थ्य संस्थाहरू, विद्यालयहरू, स्थानिय निकाय तथा स्वयंसेवकहरूबीच समन्वय गरिएको थियो। खोप वितरणका लागि विभिन्न विद्यालयहरूमा खोप केन्द्र स्थापना गरिनुका साथै समुदायस्तरमै व्यापक जनचेतना अभिवृद्धि गरियो।

खोप अभियान सफल बनाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयका शिक्षक-शिक्षिकाहरू तथा अभिभावकहरूको महत्वपूर्ण भूमिका रहेको प्रमुख घर्तीले बताए। साथै, केही किशोरीहरू खोप लगाउन छुट्न सक्ने सम्भावना रहेकाले उनीहरूलाई आगामी नियमित खोप कार्यक्रमअन्तर्गत समेटिने जानकारी पनि दिए।
नेपाल सरकारले पाठेघरको मुखको क्यान्सरको रोकथाम तथा किशोरीहरूको दीर्घकालीन स्वास्थ्य सुरक्षाका लागि एचपीभी खोप कार्यक्रमलाई प्राथमिकता दिएको छ। यस अभियानलाई अझ प्रभावकारी बनाउन आगामी दिनमा पनि स्वास्थ्य मन्त्रालय तथा स्थानीय तहबीच सहकार्य गर्दै अघि बढ्ने योजना रहेको स्वास्थ्य शाखाले जनाएको छ।