शुक्रबार, १६ चैत्र २०८० २०:२०

सियारीमा ४५ दिने तालिम संगै सिलाइ कटाइ मेसिन वितरण

शुक्रबार, ११ चैत्र २०७८ १५:०५

सियारी- रुपन्देहीको सियारी गाउँपालिकामा महिला तथा किशोरीहरुका लागि सीप मुलक सिलाई कटाई तालिम सम्पन्न भएको छ ।

सियारी गाउँपालिकाको सहयोग र ग्लोबल ट्रेनिङ सेन्टरको आयोजनामा निःशुल्क ४५ दिने बेसिक सिलाई कटाई वडा स्तरीय तालिम सम्पन्न भएको हो । सियारी गाउँपालिका वडा नं. २ र ३ का ५३ जना महिला तथा किशोरीहरुको सहभगिता रहेको तालिमको समापन कार्यक्रममा बोल्दै सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले बरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उद्धेश्यका साथ तालिम संचालन गरिएको बताउनुभयो ।

उहाँले गाउँपालिकाले यस्ता तालिमहरु धेरै नै संचालन गरेको उल्लेख गर्दै तालिममा सीप सिकेपछि सोही पेसा अपनाउनेहरुलाई तालिममा सहभागी गराईएको जानकारी दिनुभयो । अध्यक्ष थारुले खाजाको रकम समेत काटेर तालिममा सहभागीहरुलाई उद्यमी बनाउन गाउँपालिकाले सिलाई कटाई मेसिन वितरण गरिएको बताउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष अमृता गुरुङ्गले महिला हिंसा रोकथामको लागि पनि यो तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने दाबी गर्नुभयो । उहाँले आर्थिक रूपमा पीडित भएकै कारण महिलाहरु हिंसाको सिकार हुने बताउदै आर्थिक सम्बृद्धिका लागी महिलाहरु व्यापार व्यवसायमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सियारी गाउँपालिकाका आर्थिक प्रशासन प्रमुख नारायण प्रसाद पौडेल, प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख रोमलाल पुरी,सामाजिक विकास शाखा प्रमुख विनोद खनाल लगायतको सहभागी रहेको थियो । सियारी गाउँपालिकाका उपाध्यक्ष अमृता गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको समापन समारोहमा कार्यकम संयोजक सुनिता पाठकले स्वागत मन्तव्य र ग्लोबल ट्रेनिङ सेन्टरका संस्था प्रमुख हेमा बेल्बासे केसीले कार्यक्रमको संचालन गर्नुभएको थियो ।